Friday, October 9, 2020

प्रलेसको ६९ औँ स्थापना दिवस तथा पुरस्कार अर्पण समारोह सम्पन्न

काठमाडौँ । प्रगतिशील लेखक सङ्घको ६९ औँ स्थापना दिवस तथा प्रलेस प्रतिभा पुरस्कार–२०७७ अर्पण समारोह सम्पन्न भएको छ । नेकपा (माले) का महासचिव सी.पी. मैनालीको प्रमुख आतिथ्यतामा वरिष्ठ साहित्यकार वासुदेव अधिकारीलाई प्रलेस प्रतिभा पुरस्कार प्रदान गर्दै २०७७ असोज ५ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै प्रमुख अतिथि मैनालीले नेपाललाई चिनेर लेख्न साहित्य रचना गर्न प्रगतिशील लेखक तथा साहित्यकारसित आग्रह गर्नुभयो । लामो समयदेखि नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता संवेदनशील रहिरहेकाले यहाँको राजनीतिक परिवर्तनबाट सार्थक परिणाम हासिल हुन नसकेको उहाँको दावी थियो । उहाँले यही कारणले नेपालका राजनीतिक परिवर्तन वैदेशिक हस्तक्षेपसहितको हुने गरेको उहाँको ठहर थियो । यस खालको वास्तविकतालाई मध्यनजर गरेर कलम चलाउन उहाँले आग्रह गर्नुभयो ।
अहिलेसम्मको राजनीतिक परिवर्तनले प्राप्त गरेका अधिकार पनि व्यवहार लागु नभएको भन्दै उहाँले त्यसको पक्षमा कलम चलाउन प्रगतिशील साहित्यकारलाई आग्रह गर्नुभयो । खासगरी रूढीवादको विरुद्ध तथा मिहिनेतकस र सीमान्तकृत समुदायलाई आवाज दिने गरी लेख्न उहाँले आग्रह गर्नुभयो । उहाँले नेपालमा सामन्तवाद अझैसम्म नसिद्धिएको पनि बताउनुभयो ।
विशिष्ट अतिथि पूर्वमन्त्री तथा प्रलेसका सल्लाहकार शान्ता मानवीले प्रगतिशील संस्कारयुक्त समाज निर्माणका लागि प्रगतिशील साहित्यले लगातार भूमिका खेल्दै आइरेको बताउनुभयो । अहिलेसम्म रचना गरिएका प्रगतिशील साहित्यलाई जनताको बस्ती बस्तीमा पुर्याउन प्रगतिशील लेखक सङ्घले भूमिका खेल्नुपर्ने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो ।
प्रलेसका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मैनालीले ब्यानर पढेर गर्नुभएको थियो । केन्द्रीय उपाध्यक्ष गोपीरमण उपाध्यायको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार मातृका पोख्रेलले प्रलेसको इतिहास र प्रलेस प्रतिभा पुरस्कारबारे मन्तव्य राख्नुभएको थियो ।
पुरस्कार चयन प्रक्रिया तथा पुरस्कृत प्रतिभा वासुदेव अधिकारीको बारेमा केन्द्रीय उपाध्यक्ष सुशीला प्रधानाङ्गले मन्तव्य राख्नुभयो । प्रमुख अतिथि मैनालीले साहित्यकार वासुदेव अधिकारीलाई दश हजार नगद र सम्मानपत्र प्रदान गरिएको घोषणा गर्नुभयो । सम्मानपत्रको ब्यहोरा केन्द्रीय सचिव प्रकाश थापा मगरले वाचन गर्नुभएको थियो ।
उपमहासचिव आरसी न्यौपानेले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रममा केन्द्रीय सल्लाहकार डा. विन्दु शर्माले “म लङमार्चाामा निस्कन्छु” र पुरस्कृत साहित्यकार वासुदेव अधिकारीले “बस्तीमा आगो” कविता सङ्ग्रहभित्रको एउटा कविता वाचन गर्नुभएको थियो । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज पुनले “मन त नेपाली” हो शीर्षकको गीत गाउनुभएको थियो ।

www.pwa11th.blogspot.com बाट साभार 





No comments:

Post a Comment