Tuesday, December 18, 2018

प्रज्ञामा यस्तो छ भागवण्डा, प्रचण्ड र देउवा निकट विद्वानमा रुवावासी !!

साँघुन्यूज डटकम सम्बाददाता




काठमाण्डौ ३ पुस २०७५ । भाषा, साहित्य र संस्कृतिको सम्वर्द्धन र विकास गर्ने ठाउँ नेपाल प्रज्ञा प्रतिष्ठानमा नेता पिच्छे भागवण्डाको टुङ्गो लागेपछि प्राज्ञ परिषद्ले पूर्णता पाएको छ ।

गत २१ असोजमा सरकारले प्राज्ञ परिषद्को कुलपतिमा गंगाप्रसाद उप्रेती र सदस्य सचिवमा जगतप्रसाद उपाध्यायलाई चार बर्षकालागि नियुक्त गरेको थियो । उप्रेती प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र हुन उनी लगातार तेश्रो पटक प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा छन । अघिल्लो कार्यकालमा पनि कुलपति रहिसकेका उप्रेती त्यसअघि उपकुलपति थिए ।

कुनै बेला माधव नेपालको वरिपरी घुम्ने उपाध्याय सदस्य सचिव बन्नैका लागि ओली क्याम्पमा छिरेका छन । ओली क्याम्पमा छिरेपछि उनी सदस्य सचिव बन्न पाएका हुन । यस अघिका प्राज्ञ अमर गिरीलाई सदस्य सचिव बनाउने चर्चा थियो तर प्रधानमन्त्री ओलीले नमानेपछि गिरी सदस्य सचिव हुनबाट बञ्चित भएको श्रोतको दाबी छ ।

ओली समूहकै जगमान गुरुङ  आइतबार उपकुलपतिमा नियुक्त भएका छन । संस्कृतविद गुरुङ मण्डले चरित्रका विद्वान हुन । एघार सदस्यीय प्रज्ञा परिषदमा नेकपाका वरिष्ठ नेता माधव नेपालका निकटस्थ प्राडा हेमराज पौडेल नियुक्त भएका छन भने राष्ट्रपति भण्डारीको कोटामा डा देवी नेपालले प्राज्ञ बन्ने अवसर पाएका छन ।

नेकपाका नेता नारायणकाजी श्रेष्ठले दवाव दिएपछि प्राज्ञ बन्नै लागेकी सुशिला प्रधानाङगको  नाममा टिपेक्स लगाई लक्ष्मी मालीलाई प्राज्ञ बनाइएको छ । गृहमन्त्री बादलको कोटाबाट प्राडा गोपिन्द्र पौडेल प्राज्ञ बन्न सफल भएको श्रोतले बताएको छ । श्रोतले भन्यो- पौडेलको स्थानमा मातृका पोखरेलको नाम थियो । पोखरेलको नाम मेटेर  पौडेललाई प्राज्ञ बनाइयो ।

कुलपति उप्रेतीको कोटामा प्राज्ञ बन्ने भाग्यमानीमा माया ठकुरी र दिनेशराज पन्त छन । पूर्व राजावादी पृष्ठभूमीका पन्त हाल कांग्रेसको गुनगान गाउदै हिडछन । नरनाथ लुइटेलको नाम मेटेर कुलपति उप्रेतीले पन्तलाई दोश्रो पटक प्राज्ञ बनाएका हुन ।
राजपाका नेता महन्त ठाकुरको दवावमा प्राडा उषा ठाकुर प्राज्ञ बनेकी छिन ।

गायत्री विष्टको नाममा टिपेक्स लगाएर ठाकुर प्राज्ञ बनेकी हुन । ठाकुरमाथि नेपाली राजनीतिका सूचना भारतीय दूतावासमा पुर्याउने आरोप लाग्ने गर्छ । ठाकुर दोश्रो पटक प्राज्ञ बन्ने प्राडा हुन ।   त्यसैगरी कहिले कांग्रेस त कहिले फोरमको कार्यकर्ता बन्दै हिडने प्राडा योगेन्द्र प्रसाद यादव उपेन्द्र यादवको कोटामा प्राज्ञ बनेका छन । 

प्राज्ञ परिषदको ११ सदस्यीय नेतृत्वमा नेकपा अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट विद्वानहरुले अवसर नपाएकोमा उनीहरु रिसले आगो भएको खबर छ ।

कोही तिन पटकसम्म पनि अवसर पाइरहने कसैले एकपटक पनि प्राज्ञ बनेर मुलुकको भाषा, साहित्य र संस्कृतीको सम्वर्द्धन, संरक्षण र विकासमा क्षमता र दक्षता प्रकट गर्न नपाउने भन्दै रुवावासी चलेको खबर छ । 

भाषा, साहित्य र संस्कृति क्षेत्रका विद्वानहरुका लागि प्रज्ञा प्रतिष्ठान आकर्षणको केन्द्र हो । विदेश भ्रमण, त्यसमा प्रतिदिन सय डलर भत्ता, काठमाण्डौमा घरभाडा र गाडी सुविधा समेत उपलब्ध हुने भएकोले पनि  विद्वानहरु प्राज्ञ हुन मरिहत्ते गर्छन ।

सरकारको विशिष्ट श्रेणीका कर्मचारी सरह मासिक तलब सुविधा एक लाख रुपैयाको हाराहरीमा पुग्ने भएकोले पनि प्राज्ञ बन्न नेताहरुको दैलो चाहार्ने गर्छन । 

प्रतिष्ठानको प्राज्ञ सभा सदस्यमा २४ जना मनोनयन भएका छन् । सभाका सदस्यहरुलाई बर्षमा दुई पटक बस्ने बैठकमा सहभागि हुने अवसर रहन्छ । आर्थिक रुपमा त्यती धेरै फाइदाजनक नभएपनि प्राज्ञ सभाका लागि पनि धेरै चाकडी चाप्लुसी चल्ने गरेको श्रोतको भनाई छ ।

सभाका सदस्यहरुले बर्षको दुईपटक बैठकमा आउदा यातायात खर्च र होटल खर्च पाउने गर्छन । प्राज्ञ सभा सदस्यमा पनि नेताहरुको भागबण्डा चलेको छ । जसमा नेकपा निकट बिणा सिन्हा , रामकुमार श्रेष्ठ, शशी लुमुम्बू, हरिप्रसाद तिमिल्सिना, डा. रजनी ढकाल, लक्ष्मी उप्रेती, प्राडा कपील लामिछाने र केशव सुवेदी, प्राज्ञ सभा सदस्यमा मनोनयन भएका छन ।


यस्तै कांग्रेसबाट ध्रुव मधिकर्मी, आर डि प्रभास चटौत, विवश पोखरेल, गोविन्द आचार्य, प्राडा गोपाल प्रसाद पोखरेल छन भने मधेसी कोटाबाट डा विजयकुमार दत्त र महेश्वर राय मनोनयनमा परेका छन । डा खेम कोइराला ‘बन्धु’, रमा शर्मा, सूर्य खडका ‘बिखर्ची’, रामबावु सुवेदी र डा हरि दत्त पाण्डे पनि प्राज्ञ सभा सदस्यमा मनोनयन हुने विद्वान हुन ।

No comments:

Post a Comment