Saturday, December 22, 2018

प्रज्ञा प्रतिष्ठानमा पूर्वमाओवादीलाई ‘नो इन्ट्री’, महेन्द्रकाे शालिक

प्रतिष्ठानलाई प्रम ओली किन गर्दैछन् मण्डलेकरण ?




काठमाडौं । नेकपा भित्र प्राज्ञहरुको ठूलो जमात भएपनि सरकारले प्रज्ञा प्रतिष्ठानहरुमा मण्डलेकरण गर्न लागेको छ । पूर्वमाओवादी तथा एमालेका साहित्यकार तथा कलाकारकाहरुले नेतृत्व नपाउने लगभग पक्का भएको छ ।  

नेपाल प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २१ गते  कुलपतिमा गंगाप्रसाद उप्रेती र सदस्यसचिवमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरे । साढे तीन महिनापछि नेपाल प्रज्ञा प्रतिष्ठानले पूर्णता पाएपनि प्रधानमन्त्रीकै कदमप्रति बैधानिकताको प्रश्न उठेको छ ।    

कानूनको उल्लंघन 


नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ अनुसार ३५ सदस्यीय प्राज्ञसभा हुन्छ । कुलपति, उपकुलपति तथा सदस्यसचिवसहित ११ सदस्यीय कार्यकारी निकायको रुपमा प्राज्ञपरिषद् रहन्छ । 

यसको गठनप्रक्रिया पनि ऐनविपरीत रहेको छ । ऐन अनुसार ३५ सदस्यीय प्राज्ञसभाको गठन गरेर तिनै सभा सदस्यबाट पदाधिकारी छनोट गरिनुपर्ने ऐनको दफा ८ को उपदफा ३ को (१) मा उल्लेख छ । प्राज्ञपरिषद् सदस्य र कुलपति, उपकुलपति र सदस्यसचिव छनोट गरिनुपर्ने कानुनी प्रावधान छ । तर, सरकारले पहिले कुलपति र सदस्यसचिव मात्रै नियुक्त गरेर कानुनको खिल्ली उडाएको छ ।  

प्रधानमन्त्रीको इसारामा संस्कृतिमन्त्रीको लै–लै 


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा दुईजना विज्ञ व्यक्ति रहेको तीन सदस्य रहेको प्राज्ञ छनोट सिफारिस समिति रहने ऐनमा उल्लेख छ । तर, सरकारले उप्रेती र उपाध्यायलाई प्राज्ञसभाको गठन अगावै नियुक्त गरेर कानुनविपरीत काम गरेको देखिन्छ । 

कुलपति उप्रेती प्रधानमन्त्री केपी ओलीका विश्वासपात्रका रुपमा चिनिन्छन् । उनी प्रतिष्ठानमा लगातार तेश्रोपटक नेतृत्वमा पुगेका छन् । अघिल्लो कार्यकालमा कुलपति रहिसकेका उप्रेती त्यसअघि वैरागी काइँला कुलपति हुँदा उपकुलपति थिए । 

प्रधानमन्त्री ओलीले प्रतिष्ठान गठनको सम्पूर्ण जिम्मेवारी उप्रेतीलाई दिएको उनीनिकटस्थ बताउँछन् । प्रधानमन्त्रीको ग्रिनसिग्नल पाएपछि उप्रेतीले आफूलाई सहज हुने पात्र छनोट गरे ।  

पूर्वमाओवादी  पाखा परिंदै 


पूर्वनेकपा (माओवादी केन्द्र) लाई सांस्कृतिक रुपमै साइजमा ल्याउने डिजाइन अनुसार उप्रेतीले एकताको मर्मविपरीत काम गरेको जनसांस्कृतिक महासंघ नेपालका संस्कृतिकर्मीले आरोप लगाएका छन् । कुलपति उप्रेतीले नेपाल प्रज्ञा प्रतिष्ठानमा पूर्वमाओवादी निकट संस्कृतिकर्मीलाई नल्याउने योजनाका साथ काम गरे पनि डा गोपिन्द्र पौडेल र लक्ष्मी मालीलाई बाध्यतामा परेर ल्याएको श्रोत बताउँछ ।  

सभामुख कृष्णबहादुर महरा र नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले दबाव दिएका कारण पौडेललाई प्रतिष्ठानमा ल्याउन उप्रेती बाध्य भएका हुन् । त्यस्तै, मालीलाई नेवार कोटाको हिसाव मिलान गर्न ल्याइएको हो ।  

११ सदस्यीय प्राज्ञपरिषद्मा पूर्वमाओवादीबाट कम्तिमा पदाधिकारीसहित चार सदस्य समावेश गर्ने छलफल भएको महासंघ श्रोत बताउँछ । तर, त्यसलाई लत्याउँदै उप्रेतीले एकलौटी गरेको महासंघका एक सदस्यले समाचार दैनिक अनलाइनलाई बताए ।  

प्रतिष्ठान गठनमा सहजीकरण गर्न नेकपा स्थायी समिति सदस्य मणि थापा, केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई र जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष सरल सहयात्रीले संस्कृतिमन्त्री रविन्द्र अधिकारीसँग छलफल गरी सहमतिको प्रयास गरेका थिए ।  


संगीत तथा नाट्य र ललितकला प्रज्ञा प्रतिष्ठानमा पनि उप्रेतीकै हस्तक्षेप 


नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान गठनमा समेत नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले हस्तक्षेप गरेका छन् । ती प्रतिष्ठानमा प्राज्ञ छान्ने काममा उप्रेतीको मुख्य भूमिका रहेको छ । उनले सबै प्रतिष्ठानमा पञ्चमण्डले ल्याउने र पूर्वमाओवादीनिकट संस्कृतिकर्मीलाई साइजमा ल्याउने डिजाइन अनुसार काम गरिरहेको श्रोतको दावी छ ।  

ललितकला प्रतिष्ठानमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेका दाजु विपिन घिमिरेलाई नियुक्ति दिलाउने पहलसमेत उनै उप्रेतीले गरेका हुन् । जसका लागि अख्तियार प्रमुख नविन घिमिरेले समेत शक्तिको दुरुपयोग गरेको श्रोत बताउँछ । 

अख्तियारमा प्रतिष्ठानका कुलपति उप्रेतीका नाममा ११ करोडको हिनामिना गरेको आरोपसहितको मुद्दा दर्ता भएको छ । सो मुद्दाको छिनोफानोलाई सहज गर्न अख्तियार प्रमुख घिमिरेका दाजु विपिन घिमिरेलाई ललितकला प्रतिष्ठान सदस्सचिवमा ल्याउने भूमिका उप्रेतीले खेलेको कमलादि श्रोत बताउँछ ।  

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटामार्फत प्रमुख आयुक्त घिमिरेले आफ्ना दाजु विपिनलाई प्रतिष्ठानमा ल्याउन दबाब दिएको मन्त्रालय श्रोत बताउँछ ।  

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा यादव खरेल ! 


नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा उप्रेतीले यादव खरेललाई ल्याउने तयारी गरिरहेको श्रोत बताउँछ । सोमबार कुलपति उप्रेतीको योजनामा बसेको छनोट समितिको बैठकमा संगीत नाट्यको कुलपतिमा यादव खरेल र शम्भुजीत बासकोटा ल्याउने विषयमा चर्काचर्की परेपछि अर्को बैठकबाट टुंग्याउने गरी स्थगित भएको थियो । 

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा तीनवटा प्रतिष्ठान गाभ्ने बजेट भाषणमा उल्लेख गरेका थिए । तीनवटा प्रतिष्ठान गाँभेर शक्तिशाली कुलपति बन्ने योजनाका साथ उनै उप्रेतीले प्रधानमन्त्रीमार्फत उक्त निर्णय गर्न लगाएको तत्कालीन संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्तले सार्वजनिकरुपमै आरोप लगाएका थिए ।  

तीनवटा प्रतिष्ठान गाभ्ने योजनाका आर्टिटेक उप्रेतीले प्रतिष्ठान गठनमा समेत मण्डलेकरण गरेपछि प्रगतिशील तथा प्रगतिवादी संस्कृतिकर्मीको मर्ममा प्रहार भएको प्रगतिशील लेखक संघका एक सदस्यले बताए । 

प्रतिष्ठान परिसरमा महाकवि छैनन्, महेन्द्रको शालिक    


उप्रेतीले नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा राजा महेन्द्रको शालिक राख्ने तयारी गरिरहेको प्रतिष्ठान श्रोतले बताएको छ । अघिललो कार्यकालमै उनले उक्त शालिक राख्न प्रयत्न गरेका थिए । तर, प्राज्ञपरिषद् सदस्यद्वय श्रवण मुकारुङ र मातृका पोखरेलको चर्को दबाबका कारण राख्न सकेका थिएनन् ।  

अहिले उनले आफू अनुकूलका व्यक्ति ल्याएर सो काम गर्ने तयारी गरिरहेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान बनाउन पहल गर्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक अहिलेसम्म प्रतिष्ठानमा राखिएको छैन । देवकोटाको शालिक राख्ने सवालमा उप्रेती निकै अनुदार रहेका छन् । 




प्रतिष्ठानमा महेन्द्रकाे शालिक राख्न लागिएकाेप्रति कटाक्ष गर्दै कवि तथा संस्कृतिकर्मी बलराम तिमिल्सिनाले फेसबुकमा लेखेका छन्, '२००७ सालमा क्रान्ति भएको हुन्थ्यो भने गणतन्त्र आउँथ्यो । टुँडीखेलका श्री ३ का शालिकहरू उखेलिन्थे । हामीकहाँ आएको गणतन्त्र जरैबाट आएको हुन्थ्यो भने सिंहदरवार पश्चिम गेटको पृथ्वी नारायणको शालिक उखेलिन्थ्यो र ती शालिकहरू संग्रहालयमा राखिन्थे । एमाले कम्युनिष्ट हुन्थ्यो भने उसले नियुक्त गरेका प्रज्ञा प्रतिष्ठानका कूलपतिले अनेक बहाना बनाएर प्रतिष्ठानको ग्यालरीमा आन्दोलनले भत्काएको महेन्द्रको शालिक फेरि बनाउँने धृष्टता गर्दैनथे । माओवादी र एमाले मिलेर बनेको नक्कली नेकपामा कम्युनिष्टको गन्ध वाँकि हुन्थ्यो भने उसको सरकारले नियुक्त गरेका उपकूलपति जगमान गुरुङ्गले दौरा सुरुवाल नलगाई प्रतिष्ठान नछिर्न उर्दी जारी गर्ने काम गर्ने थिएनन ।' 

'हो महेन्द्र आफ्नो सामन्तवादी सत्ता वारे निकै गंभीर थिए ।हरेक सत्ताले आफ्नो सांस्कृतिक सत्ता पनि खडा गर्नु पर्छ भन्नेमा उनी चलाख थिए। त्यसैले खस भाषा र सामन्ती साहित्यको प्रवर्धन गर्न उनी आफै अग्रसर भएर प्रज्ञा प्रतिष्ठान बनाए। हालको प्रतिष्ठान बनाउँन जमीन पनि दिए।तर त्यो जग्गा उनका पीता पूर्खाले ढालफाँड गरेर बनाएको जग्गा थिएन। उनका पूर्खाले राज्य कव्जा गर्दा आफ्नो बनाएको लुटिएको जग्गा थियो।त्यही लुटको धन दान गरेर उनी धन्य धन्य भए । हालको एकेडेमी त्यसै कुरामा कन्भिन्स भएर संस्थापकको शालिक बनाउँदै छ। आन्दोलनले भत्काउँने एकेडेमीले बनाउँने भनेपछि वर्तमान एकेडेमी आन्दोलनको मर्म विरोधी छ । पुरानो सत्ता राजनीतिक रुपमा पराजित भए पनि सांस्कृतिक क्षेत्रमा सैनिक क्षेत्रमा र प्रशासनिक क्षेत्रमा यथावत रहेको हुन्छ।त्यहाँबाट पनि पुरानो सत्तालाई परास्त गर्ने काम क्रान्तिकारीहरूले गर्नु पर्छ ।तर यहाँ विस्तारै क्रान्तिकारीहरूले हारेका छन र प्रतिक्रान्तिकारीहरू पुनर्स्थापित हुदै छन्।' 

मण्डलेहरुको भिडमा केही पूर्वएमाले  


प्रतिष्ठानको उपकुलपतिमा मण्डले पृष्ठभूमिका जगमान गुरुङ नियुक्त भएका छन । ११ सदस्यीय प्राज्ञपरिषदमा प्राडा हेमराज पौडेल, डा देवी नेपाल, लक्ष्मी माली, प्राडा गोपिन्द्र पौडेल, माया ठकुरी, दिनेशराज पन्त, प्राडा उषा ठाकुर र प्राडा योगेन्द्र प्रसाद यादव रहेका छन् । 

प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा २४ जना मनोनयन भएका छन् । बिणा सिन्हा, रामकुमार श्रेष्ठ, शशी लुमुम्बू, हरिप्रसाद तिमिल्सिना, डा. रजनी ढकाल, लक्ष्मी उप्रेती, प्राडा कपील लामिछाने, केशव सुवेदी, ध्रुव मधिकर्मी, आर डि प्रभास चटौत, विवश पोखरेल, गोविन्द आचार्य, प्राडा गोपाल प्रसाद पोखरेल, डा विजयकुमार दत्त, महेश्वर राय, डा खेम कोइराला ‘बन्धु’, रमा शर्मा, सूर्य खडका ‘बिखर्ची’, रामबावु सुवेदी र डा हरिदत्त पाण्डे रहेका छन् ।  

के भन्छ जनसांस्कृतिक महासंघ ? 


नेकपाका स्थायी समिति सदस्य तथा मणि थापाले समेत सरकारको यस्तो कदमको विरोध गरेका छन् । समाचार दैनिकसँगको कुराकानीमा थापाले भने, ‘सरकारले गरेको प्रज्ञा प्रतिष्ठानको नियुक्ती प्रतिगामी छ, यसलाई सच्याउनु पर्छ ।’ 

नेकपाको जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष सरल सहयात्रीले सरकारको यस्तो कदमको खरो आलोचना गरे । सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोख्दै उनले लेखेका छन्, ‘प्रगतिशील बैचारिक र साँस्कृतिक मुल्य मान्यताको निम्ति पार्टीभित्र साँस्कृतिक संगठनको बैधानिकता दिएर प्रगतिशील धाराको आफुलाइ ठेकेदारझैं भाषण दिन पछि नपर्ने तर प्रगतिशील संस्कृतिको संरक्षण र बिकाश गर्नुपर्ने निकाय र प्रतिष्ठानहरुमा चाहीं महेन्द्र राजाको उत्तराधिकारी झैँ कि त उनैका चिन्तन रबिचारले पोषित कथित बिज्ञर कलाकारहरु खोज्ने, कि कलुषित आफ्नै मानसिकतासंग मात्रै मेल खाने गुटका पदाधिकारी रोजेर नियुक्ति दिने इस !! तिमि कम्युनिष्ट सरकार !!! हेरौंला...’  

www.samachardainik.com बाट साभार 
 बुधबार ४ पौष, २०७५ २०:४४:०० मा प्रकाशित

कुमार कोइरालाको फेसबुक टिप्पणि 
बलराम तिमिल्सिनाको फेसबुक टिप्पणि 
अमर गिरीको फेसबुक टिप्पणी 

No comments:

Post a Comment