Friday, September 28, 2018

‘कवि कणाद महर्षि र डा.काशीराज सुवेदी’लाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण


काठमाडौ, भदौ ४, २०७३ । वरिष्ठ कवि कणाद महर्षिलाई २०७२ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिएको छ । यसैगरी वरिष्ठ आयुर्वेद चिकित्सक डा. काशीराज सुवेदीलाई २०७२ सालको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ अर्पण गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित साहित्य सन्ध्याको वार्षिक उत्सव एवम् नियमित मासिक ३६३ औँ शृङ्खला समारोहमा दुवै कविलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको हो ।
२०७२ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गर्ने प्रयोजनका लागि वरिष्ठ साहित्यकार वासुदेव अधिकारीको संयोजकत्वमा डा. षडानन्द पौड्याल र जयन्ती स्पन्दन सदस्य रहनु भएको स्रष्टा चयन समिति गठन गरिएको र सो समितिको सिफारिशका आधारमा वरिष्ठ कवि कणाद महर्षिलाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गर्ने निर्णय साहित्य सन्ध्याले गरेको थियो ।
स्रष्टा चयन समितिका तर्फबाट डा. षडानन्द पौड्यालले कणाद महिर्षको व्यक्तित्वका बारेमा चर्चा गर्नु हुँदै देशैभरिका प्रगतिवादी साहित्यकारको सूची बनाएर छलफल गर्दा लामो समयदेखि इमान र निष्ठाका साथ अविचल रूपमा सामाजिक रूपान्तरणका पक्षमा आफ्नो कलमलाई निर्भीक रूपमा प्रस्तुत गर्ने वरिष्ठ साधक कणाद महर्षिलाई उपयुक्त ठानी सिफारिस गरिएको जानकारी दिनु भयो । त्यसै गरी डा.देवी नेपालले वरिष्ठ आयुर्वेद चिकित्सक डा.काशीराज सुवेदीको व्यक्तित्वमाथि प्रकाश पार्नु हुँदै धेरै भाषाका ज्ञाता, प्रशिक्षक, अनुसन्धाता, आफूलाई विज्ञापन गर्न नचाहने, विद्वता प्रदर्शन पनि नगर्ने, दश ओटा कृति लेखि सकेका निष्ठाका धरोहर रहनु भएका डा.सुवेदी सम्मानका लायक हुनु भएको जानकारी गराउनु भयो ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार माननीय नारायणमान बिजुक्छे ‘रोहित’ प्रमुख अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय गङ्गाप्रसाद उप्रेती अनि विशेष अतिथिमा नेकपा एमालेका सचिव एवम् वरिष्ठ साहित्यकार प्रदीप ज्ञवाली, वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् संस्कृतिविद् डा. मोदनाथ प्रश्रित, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी उपस्थित हुनु हुन्थ्यो ।
अतिथिहरूमा प्राज्ञ नर्मदेश्वरी सत्याल, प्राज्ञ मातृका पोखरेल, प्राज्ञ प्रा।जगत् उपाध्याय ‘प्रेक्षित’, प्राज्ञ हेमनाथ पौडेल, प्राज्ञ सानु पहाडी, वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट, वरिष्ठ कवि रामबहादुर पहाडी, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा. फणीन्द्रराज निरौला, पूर्व मन्त्री शान्ता मानवी, प्राज्ञ दिनेशराज पन्त, प्रा.डा.कृष्णप्रसाद घिमिरे, डा.बालचन्द्र मिश्र, डा.देवी नेपाल, डा.षडानन्द पौड्याल, प्रगतिशील लेखक सङ्घका वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’, शब्द संयोजन साहित्यिक मासिकका सम्पादक शीतल गिरी उपस्थित हुनु हुन्थ्यो ।
कार्यक्रममा कवि पूर्ण विराम, नरेश शाक्य, सुरेन्द्र गोसाई, अमृता स्मृति, सानु पहाडी र गोर्खाका सतासी वर्षीय नेत्रमणि आचार्यले प्रतिनिधिमूलक कविता गीत प्रस्तुत गर्नु भएको थियो ।
www.janaboli.com बाट साभार 

No comments:

Post a Comment