Wednesday, January 2, 2019

प्रलेसको महाधिवेशन चैतमा

जलजला खबर
१५ पुष २०७५, आईतवार 




काठमाडौँ, १५ पुस (रासस) वामपन्थी लेखकको साझा संस्था प्रगतिशील लेखक सङ्घको एघारौँ राष्ट्रिय सम्मेलन आगामी चैत २२ र २३ गते काठमाडौँमा हुने भएको छ ।
सामन्तवाद र साम्राज्यवादविरोधी लेखकहरु सदस्य रहेको सो संस्थाको वर्तमान कार्यसमितिको तीनवर्षे कार्यकाल सकिन लाग्दा सङ्घको केन्द्रीय सचिवालयको बैठकले महाधिवेशनको मिति तय गरेको अध्यक्ष मातृका पोखरेलले जानकारी दिनुभयो । विसं २००९ मा स्थापित उक्त संस्थामा सबै वाम घटकनिकट साहित्यिक मोर्चामा आबद्ध र स्वतन्त्र स्रष्टा सदस्य छन् ।
सङ्घको दशौँ सम्मेलन २०७२ चैत २८ गते भएको थियो । सङ्घको प्रदेश नं ३ कमिटीले आज आयोजना गरेको ‘रुपान्तरणमा प्रलेस’ विषयक छलफल कार्यक्रममा अध्यक्ष पोखरेलले मुलुकमा गणतन्त्र स्थापना भए पनि देशीय सामन्तवाद तथा पश्चिमा सांस्कृतिक साम्राज्यवाद र भारतको एकाधिकार पुँजीवादी प्रवृत्ति, असमान सन्धि सम्झौताका प्रवृत्ति कायम रहेकाले आफ्नो संस्थाको औचित्य अझै रहेको बताउनुभयो । उहाँले सङ्घको औचित्य छैन भन्नेको तर्क औचित्यहीन भएको दाबी गर्नुभयो ।
नेपाली सीमानामा हुने हस्तक्षेप तथा शक्ति राष्ट्रबाट नेपाललाई रणक्षेत्र बनाउने खतराप्रति सतर्क हुँदै साहित्यिक सांस्कृतिक आन्दोलनलाई साझा मोर्चाका रुपमा थप गतिशील बनाउन सम्पूर्ण प्रगतिशील स्रष्टालाई एकीकृत र प्रभावकारी पहल गर्न सङ्घले विभिन्न गतिविधि सञ्चालन गरिरहेको महासचिव आरएम डङ्गोलले बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य मणि थापा र पूर्वमन्त्री शान्ता मानवीले सङ्घको घोषित लक्ष्य र कार्यक्रम पूरा गर्न यसको औचित्य अझै रहेकामा जोड दिनुभयो । साहित्यकार बलराम तिमल्सिनाले सङ्घ सत्तामुखी र पूँजीवादी हुँदै गएकाले यसको औचित्य कमजोर भएको आरोप लगाउनुभयो ।
सङ्घका उपाध्यक्ष एवं प्रदेश नं ३ का संयोजक खेम थपलियाले प्रलेस रुपान्तरणका लागि आएका सबै तर्क र वास्तविकताको समीक्षा गरी यसलाई क्रान्तिकारी सङ्गठनका रुपमा क्रियाशील बनाउन युवा अग्रसर हुनुपर्ने बताउनुभयो ।

www.jaljalakhabar.com बाट साभार 






No comments:

Post a Comment