Thursday, June 29, 2017

म कहाँनिर उभिएको छु ? - प्रकाश थाम्सुहाङ


यात्रा 

दार्शनिक प्लेटोलाई उद्धृत गर्दै निबन्धकार रोशन शेरचन धोबीघाट एक्सप्रेसमा लेख्छन्- संवादबाट नि:सृत ज्ञान नै ज्ञानको उच्चतम रूप हो । प्लेटोझैं लिटरेरी ग्रुप दमकका मित्रहरू आजकल संवादमा जोड दिइरहेका छन् । समाजसँग संवाद । उनीहरूको यो जार्गनदेखि म अघोर आकर्षित भएको छु । हिजो साँझदेखि परेको बेमौसमी झरी थामिएकै थिएन । जति झरी पथ्र्यो उति म चिन्तित हुन्थेँ । त्यसो त सप्पैभन्दा बेसी पानीको आवश्यकता म (कृषक)लाई नै थियो । अलैंची सुक्खा थियो ।

प्रकाश थाम्सुहाङ

सुन्तलामा मल हालेर सिँचाइ गर्न नसक्नुको पीडा मसँग थियो । मकै छर्ने सिजन हुँदै थियो र लहरे तरकारी बाली लाउने सिजन बित्दै थियो । फागुनको अन्त्यतिर जमिन कुनै श्रमजीवी मानिसको पैतालाझैं पट्पट फुटेको बेला पानी परेको थियो । पानीको स्पर्शपछि त्यो धुलौटे माटोबाट नि:सृत सुगन्ध बेजोड थियो । तर पनि झरी थामियोस् म चाहन्थेँ । मलाई कतै जानु थियो ।

लिटरेटी ग्रुप दमकका साथीहरू प्रत्येक महिना अनप्लग कविता साँझको आयोजना गर्छन् । गितारको धुन र कविताको फ्युजन निश्चय नै अलौकिक हुने गर्छ । यसपटक उनीहरू केही पृथक् गर्दै थिए । गाउँमा अनप्लग कविता साँझ । उनीहरूले रोजेको थलो थियो इलाम जिल्ला कै समालबुङ गाउँ । यस अर्थमा म उत्साहित थिएँ । तर झरी तगारो भएर बर्सिदै थियो ।

झरीसँग यतिविघ्न चिन्तित हुनुको कारण समालबुङसम्म यात्रा बाइकमा गर्ने निधो थियो । फेरि 'विप्लब'जीबाट नेपाल बन्दको घोषणा भएको थियो । बाइक एउटामात्र लैजाने, कवि विमलसँग मेरो सल्लाह थियो । किनकि मेरो बाइक भगवान् भरोसामा चल्दै थियो । बाइकले वर्कसपको मेन्टेनेन्स् नपाएको निकै समय बितेको थियो ।

यस्तो सिचुएसनमा मलाई जहिले आत्मग्लानि हुन्छ- म अव्यावहारिक छु, आफ्नो सामानको कहिल्यै ख्याल गर्दिनँ । पीडा त तब भो जब रेनकोट खोज्दा धुजाधुजा भेटियो । रेनकोट पहिल्यै मक्किसकेको रहेछ । अब झरी थामियोस्- प्रार्थना गर्नबाहेक अर्को विकल्प रहेन । किनकि तत्काल रेनकोट किन्ने हैसियत मसँग थिएन।

प्लास्टिक मेरो कामचलाउ रेनकोट थियो । प्लास्टिकले पूर्ण रेनकोटको काम नगरे पनि ओत छ है भन्ने मनमा परेको थियो । तर, माईखोलाको पुल पुग्ने बेला अर्को समस्या आइलाग्यो । बाइक घुमाउने लागेको बोकाझैं ढलपल गर्न थाल्यो ।


बिहानै हिँड्ने योजना त्यसै बितेर गयो । खाना खाएर हात चुठ्दै के थिएँ, झरी थामियो । तर, अचम्म ! लगत्तै घाम देखियो । घाम मेरो मनमा पनि लाग्यो र नै प्रफुल्ल भो । अनि दौडिएँ विमल वैद्यको घरतिर । यसपटकको अनफ्लग कविता साँझमा अन्य तीन कविहरू कविता राई गाउँले, रेखा सुवेदी, अनिल पौडेलसँगै विमल वैद्यको पनि प्रस्तुति थियो । हामीलाई दिनको ३ बजे सम्ममा हरहालमा समालबुङ पुग्नु थियो ।

इलामको मौसम मानिसलाई तिनचित पार्ने खालको हुन्छ । इलामको मौसमको भर सायदै पर्नु राम्रो । छिनमै भुइँकुहिरो उडी आउँछ सफा दिनमा पनि, छिनमै घाम, छिनमै झरी । इलामको धर्तीसँग जिस्किरहन्छ प्रकृति पनि ।

कवि विमल बाइक हाँक्दैछन् । म पछाडि बसेको छु । तर, जसै करिब दुई किमी को ओरालो यात्रा तय गर्छौं, पानी फेरि पर्न थाल्छ । विमल बाइक साइड लगाएर रेनकोट लगाउन थाल्छन् । म भने विन्डप्रुफ ज्याकेटले वाटरपु्रफको काम गरोस् भन्ने उदेकको कामना गर्छु । पानी पनि मन्सुनकै जस्तो, मेरो मनोकांक्षा कहाँ पूरा हुनु ? म क्रमश: निथ्रुक्क भिज्दैछु । गोलाखर्क भञ्याङ पुगेपछि विमल बाइक रोक्छन् र छिर्छन् एउटा किराना पसल । फर्किंदा उनको हातमा करिब डेढ मिटर प्लास्टिक हुन्छ ।

त्यो प्लास्टिक मेरो काम चलाउ रेनकोट थियो । प्लास्टिकले पूर्ण रेनकोटको काम नगरे पनि ओत छ है भन्ने मनमा परेको थियो । तर, माईखोलाको पुल पुग्ने बेला अर्को समस्या आइलाग्यो । बाइक घुमाउने लागेको बोकाझैं ढलपल गर्न थाल्यो ।


जे नहुनुपर्ने त्यही भयो । समस्यामाथि अर्को समस्या थपियो । बाइक पन्चर भो । फेरि नेपाल बन्द थियो । ग्यारेज खुला थियो, थिएन याद गरेका थिएनौं । माईखोलामा वर्कसप थिएन । त्यसो त विमल उकालोमा घुर्नुको विकल्प थिएन । म भने समयमै कार्यक्रममा नपुगिने भयले आक्रान्त माईपुलमाथि एक्लै हिँड्दै थिएँ । पुलमुनि पानी धमिलो बग्दै थियो । पुलमाथिबाट पानी बर्सिंदै थियो । समय कतै हराएझैं थियो । मलाई माया बहिनीको पसलमा पुगेर ओत लाग्न हतार थियो । त्यही बेला मनमा झिलिक्क स्वैरकल्पना उब्जियो- के था ? पद्म श्री पुरस्कार विजेता आख्यानकार कृष्ण बराल अर्को आख्यानको प्लट फेरि त्यही पसलको टेबलमा लेख्दै गरेका भेटिने हुन् कि ?

अनुमानविपरीत विमल चाँडै फर्किए । धन्न खुल्लै भेटेछन् वर्कसप र टालेछन् पन्चर । पानी सिमसिम परी नै रहेको थियो । अनि हुइँकियौं उकालै उकालो फिक्कलतिर । किनकि समालबुङ निकै टाढा थियो ।फिक्कल बजारबाट करिब एक किमी पश्चिमदक्षिण लागेपछि कन्याम नपुग्दै आउँछ छिपिटार चोक । त्यहाँबाट दक्षिणपूर्व लाग्नुपर्छ अन्तु समालबुङ जाने बाटो । अन्तुडाँडा पुग्न केही तलसम्म कालोपत्रे छ । त्यसो त पानी परे पनि उति चिन्ता थिएन । छिपिटार पुगेपछि बाइक बिसायौं । बाइक बिसाउनु र पानी थामिनु लगभग एकै समयमा भयो । पशुपतिनगरबाट सिमापारका कविहरूलाई लिएर आउँदै थिइन् कवि कविता राई गाउँले ।

झापाबाट मुनाराज शेर्मा, मेची पुत्र, सुन्दर कुरूप, राजकुमार अनिश्चित, विवश बलिभद्र आउँदै थिए । इटहरीबाट कवि देवान किराँती पनि आउँदै थिए । उनीहरूलाई पर्खेर सँगै जाने विमल र मेरो सल्लाह थियो । विमलचाहिँ कुन्नि ! म भने आधासरो भिजेको थिएँ ।

प्राय: सोच्ने गर्थें- साँझबिहान घामपानी नभनी कविताको पछाडि म्याराथन दौडिनुमा के रहस्य छ ? के विघ्न शक्तिशाली कविताको सम्मोहन ? फेरि सत्य तर उदेकलाग्दो विचारले मनमा भूकम्प ल्याउँथ्यो- हामीले कविता नलेख्दैमा केही बिग्रँदैन । अरू लेख्ने आइहाल्छन् ।

मार्क्सले धर्मलाई अफिमसँग तुलना गरेका छन् । अफिम माने नशा । कसैले लिटरेरी ग्रुपका मित्रहरूलाई कविता के हो ? भनेर सोधेमा कवि श्रवण मुकारुङको भाषामा महानशा भन्दा हुन् । विगत एक वर्ष अघिदेखी कविताप्रति उनीहरूको सम्मोहन र लगाव देखेर म चकित खाइरहेछु । समालबुङमा कविता त्यही लगावको निरन्तरता थियो । साथमा कवि एकु घिमिरे र नेपाल प्रज्ञाप्रतिष्ठान जोडिएका थिए ।

आधा दर्जन मिरिकका कविहरूलाई लिएर पशुपतिनगरका कवि कविता राई गाउँले छिपिटार आइपुग्छिन् । उनीहरू भ्यानमा आएका थिए । उनीहरूमा बन्दको प्रभाव देखिएन । केही बेरमै झापा बर्नेका कवि मुनाराज शेर्माको घरबाट गाडी चढी इटहरी र दमकका कवि आइपुगे । ती घगडान युवा कविलाई बर्नेसम्म पानीले चुट्नु चुटेछ । त्यसो त अघि भिजेको ज्याकेट, टी सर्ट गाडीको झ्यालमा सुकाउँदै आएछन् । मैले कपडाहरू झन्डाजस्तै देखेथेँ र ती युवाहरू विप्लपको कार्यकर्ता ।

छिपिटारबाट म गाडीमै जाने भएँ । आगो तापेर आंशिक सुकाएको ज्यानलाई फेरि रुझाउनु थिएन । गाडीमा फेरि मुनाराज, मेचीपुत्र, सुन्दर, देवान, विवश, राजकुमार र म चढ्यौं । झरी रोकिएको थियो । छिपिटारदेखि ओरालो सिद्धिखोलासम्म बाटो साँघुरो थियो । तर, वरिपरि सानासाना थुम्काथुम्की । ती थुम्काभरि चियाको बोट । भर्खरै झरीले स्पर्श गरेर गएको चियाको मुनामा पानीको थोपा टल्किरहेको देखिन्थ्यो । साना चिटिक्क परेका घरहरू र घरको आँगनभरि फूलैफूल । कहिले ओढ्दै कहिले फाल्दै गरेको भुइँकुहिरोको पछ्यौरी । साथीहरूको भेज र ननभेज जोक ।

यस्तै रमाइलो बीच लिटरेरीका साथीहरूलाई एउटा जिज्ञासा राखेथेँ- समाजसँग संवाद किन ?

किनकि यो समयमा एउटा कविले अर्को कविसँग मात्रै संवाद गरिरहेको अवस्था छ । कविता पनि अर्को कविलाई मन पर्छ पर्दैन को आधारमा लेखिरहेछ । अब समाजसँग अर्थपूर्ण संवादको जरुरी छ । आममानिससम्म अब कवितालाई पुर्‍याउन जरुरी छ । लिटरेरी ग्रुपको समाजसँग संवाद त्यही कार्यको प्रारम्भ हो- कवि सुन्दर कुरूपको जवाफ थियो ।

कालोपत्रे सकिएर केही मिटर उकालो कच्ची हिँडेपछि कविताहरू चढेको भ्यान हिलोमा फसेछ । भ्यान त्यहाँबाट उँभो जान नसक्ने भएछ । भ्यानमा चढेका साथीहरू हिडेर जाँदै थिए । कविताजी र विजय बान्तवालाई हाम्रो गाडीमा चढायौं । हाम्रो गाडी पनि ठेल्दैठेल्दै त्यो हिलो बाटो पार लगायौं । पानी फेरि सिमसिम पर्न थालेको थियो । साँच्चै त्यो साँझ झरीमा कविता हुनेवाला थियो ।

मधेसको पक्की सडकमा मात्र कुदाउने बानी भएका पृथ्वी सोल्टीलाई भर्खरै पानी परेर चिप्लो भएको कच्ची सडकले पेदुपेदु बनाएको थियो । हामी धेरै ठाउँमा जोड गर्दै अन्तु बजारसम्म पुगेका थियौं । हामीलाई अझै समालबुङको शान्ति बजार पुग्नु थियो । कार्यक्रम संयोजक एकु घिमिरेको फोन तारन्तार आइरहेको थियो । कार्यक्रम ढिलो होला कि भन्ने उनको चिन्ता थियो ।

हाम्रो गाडी अन्तु बजारबाट अगाडि बढ्न सकेन । हामीसँग पैदल हिँड्नुबाहेक अर्को विकल्प रहेन । स्थानीयवासीलाई सोध्यौं- कति लाग्छ शान्तिबजार पुग्न भनेर । 'तपाईंहरूलाई डेढ घन्टा लाग्छ होला', जवाफ पाएथ्यौं । जवाफसँगै मेरो नौनारी गलेर आएथ्यो ।

पानी पनि छिनमै बर्सिन्छ फेरि हराउँछ । कुनै लिम्बूको बिहेमा आँगनमा बसेका पाहुनालाई बार्दलीबाट सोल्टिनीले लुकिछिपी पानी छ्यापेझैं, झरी पनि हामीसँगै इत्रिदै छ जस्तो ।सबैभन्दा चिन्ता मलाई कवि कविता राई गाउँलेको लागेको थियो । किनकि कविताजीको पहिरन सारी र हाई हिल चप्पल थियो । हिलो, सोलिङ, कच्ची बाटोमा पैदलयात्रा गाह्रो होला, सोच्दै थिएँ । तर, एक ठाउँ बिसाएर हाई हिलको ठाउँमा स्पोर्टस् सुज लगाएर फटाफट हिँड्न थालिन् । महिलाहरू दूरदर्शी हुन्छन्, सुनेको थिएँ प्रमाण आखैँअघि थियो । र मेरो चिन्ता व्यर्थै साबित भएको थियो ।

करिब एक किमी तेर्सो हिँडेपछि एकछिन अडियौं । 'शान्तिबजार पुग्नलाई कति लाग्छ ? ' पसलकी बैनीलाई सोधें मैले । 'तपाईंहरूलाई डेढ घन्टा लाग्ला', फेरि उस्तै जवाफ थियो ।साँझको ५ बज्नै लागेको थियो । अब हिँडेर कार्यक्रम भ्याउनु सम्भव थिएन । पसलकी बहिनीले नै सल्लाह दिइन्- गाडीमा जानुहोस्, म बोलाइदिन्छु । कवि एकु घिमिरेको फोन १०औँ पटक डायल गर्दा पनि लागेको थिएन । पसलकी बहिनीको वचनले हामीलाई चिन्ताबाट मुक्ति दिएको थियो ।

शान्ति बजार पुगेर गाडीबाट ओर्लिने बेला कवि मेचीपुत्रको अनुहार उदास थियो । सोधेँ- के भयो कविज्यू ?'
चिया पसल्नी र मेरो पूर्वप्रेमिकाको अनुहार ठ्याक्कै मिल्दो रैछ । यो दुनियाँमा दुरुस्तै अनुहार मिल्ने भेटिँदा रहेछन् । म नोस्टाल्जिक भएँ दाइ', मेचीपुत्रको जवाफ थियो ।उसबखत मैले भने फुत्किसकेको हाँसो घाँटीभित्रै दबाएको थिएँ ।

कार्यक्रमस्थल बाहिर प्रांगणमा नै थियो । हामी पुग्दा प्राज्ञहरू मातृका पोखरेल, नर्मदेश्वरी सत्याल, धरानका टंक न्यौपाने, टीका आत्रेय लगायतका कवि पुगिसकेका थिए । हामी के पुग्नु लिटरेरी ग्रुप, नेपाल प्रज्ञाप्रतिष्ठान र शान्तिबजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा दसौं अनप्लग कविता साँझ प्रारम्भ भयो । कवितासँगै इलामको चिनारी भुइँकुहिरो र सिमसिम पानी बर्सिन थाल्यो । छाता ओढेर नै भए पनि, साँझको चुलो बाल्न हतार भए पनि, प्रतिकूल मौसमका बीच शान्ति बजारका कविताप्रेमीहरूले चारैजना कविको कविता ध्यान दिएर सुने । जुत्तामुनि हिलोको अर्को जुत्ता टाँसिए पनि मेरो मन पुलकित भएको थियो । म पनि एउटा कविताप्रेमी जो थिएँ ।

हाम्रो खानपिन र बासको व्यवस्था होमस्टेमा थियो । शान्ति बजारमा धेरैजस्तो तामाङ बस्ती रहेछ । अनि आर्यन र लिम्बूका घर । नेपाली मोबाइलले नेटवर्क नटिप्ने । बरु इन्डियन भोडाफोनको बिगबिगी रहेछ । सबै सीमावर्ती नेपाली गाउँहरूको समान पीडामा थियो समालबुङ गाउँ पनि । सीमापारको उज्यालो हेर्दै रमाउनुपर्ने नियति थियो शान्तिबजारको पनि ।

हामीलाई कुन दिन भारतमा गाप्छ गाप्छ- तरकारी चलाउँदै होमस्टेका बुहारीले भनेकी थिइन् ।किन नि ? हाम्रो समवेत जिज्ञासा थियो ।नेपालको पूर्वी सिमाना लालीखर्क भन्छ । लोकसेवामा त्यही आउँछ । लालीखर्क त सिद्धिखोलाको शिर पो हो । मेची खोलाको शिर छब्बिसे हो । यसरी त सिद्धिखोला पारिका हामीहरू भारतको भूगोलमा पर्छौं नि । -

उनको चिन्ता थियो । उनको चिन्ता जायज थियो । रातारात जंगेपिलर गायब हुनु र केही दिनमा नेपालको सिमामा गाडिनु कुनै नौलो घटना थिएन । हामीमध्ये भुक्तभोगी कवि कविता राई गाउँले थिइन्, जो सिमानामा बस्छिन् । उनीसँग सिमानाका थुप्रै कथा रैछन् । जस्तो-
जहिल्यै घाम अल्मलिरहने यो ठाउँमा
यदि तपाईं नै आउनुभयो भने पनि
पक्कै अल्मलिनु हुनेछ
कि, इतिहासले को दिएको यो सिमानामा
म कहाँनिर उभिएको छु भनेर !


http://annapurnapost.com बाट साभार 

No comments:

Post a Comment