Thursday, October 24, 2019

‘मित्रताको आकाश’मा मातृका-सृजना : ठाकुर शर्मा भण्डारी









-----------------------------------------------------------


‘मित्रताको आकाश’मा मातृका–सृजना
ठाकुर शर्मा भण्डारी

१. विषयप्रवेश 
कविता अन्तर्हृदयबाट निःसृत हुन्छ । जीवनको सूक्ष्मभन्दा पनि सूक्ष्मतत्त्वलाई समाउँछ । व्यक्तिभित्रको सुख, दुःख, आरोहावरोह मात्र होइन कि समस्त जीवनका सूक्ष्मतम पक्षहरूलाई र समस्त ब्रह्माण्डलाई पहिल्याउने प्रयास गर्छ । कविता जीवन हो, मानिसको अपरिहार्य अङ्ग हो । जीवनयात्रामा यसको ठूलो अर्थ छ, रहस्यमय जीवनयात्रा कवितामय छ, तसर्थ आनन्दमय छ कविता । त्यसभित्र हामी सबै छौँ, मानिस सर्वश्रेष्ठ प्राणीमा गनिने हुनाले पनि यसमा रमाउँछ, रमाउनु नै मानवीय जीवनको सार्थकता हो र रसमय जीवनको लक्ष्य नै आनन्दमय बनाउनु हो । साहित्यमा लाग्ने व्यक्तिले आनन्द लिने मात्र नभई अरूलाई पनि आनन्द दिलाउने काममा व्यस्त रहेको हुन्छ, तसर्थ जन्मिन्छन् अनेक कृतिहरू सर्वदा । यस्तै साहित्यिक यात्रामा रमाएर लेख्ने एवं विधागत योगदानमा कविता लेख्न बढी रुचि राख्ने कुशल कविको रूपमा चिनिन्छ – मातृका पोखरेलजीलाई ।  

२. कविपरिचय
मातृका पोखरेल नेपाली साहित्यको क्षेत्रमा चर्चित नाम हो । पिता नन्दलाल पोखरेल माता सीतादेवी पोखरेलका सुपुत्र मातृकाको जन्म ठानागाउँ थामखर्क, उदयपुरमा २०२३ असार ९ गते भएको हो । उहाँको शिक्षाको सन्दर्भमा हेर्दा नेपालीमा एम.ए.(त्रिवि)सम्मको अध्ययन रहेको देखिन्छ । 

नेपाली साहित्यको क्षेत्रमा विशेष गरेर कवितामा योगदान गर्नुभएका कवि पोखरेलका प्रकाशित कृति हुन् : सेतोदरवारको छेउबाट (कवितासङ्ग्रह २०५७), यात्राको एउटा दृश्य (कवितासङ्ग्रह २०६०), सन्त्रस्त आँखाहरू (कवितासङ्ग्रह २०६१), अनुहारहरू (कवितासङ्ग्रह २०६४), मित्रताको आकाश (कवितासङ्ग्रह २०७६) र घाम झुल्किनुअघि (कथासङ्ग्रह २०६७) । नेपाली साहित्यको सेवा गरेवापत विभिन्न सङ्घ÷संस्थाहरू सम्मान गरेका छन् । काजीरोशन पाण्डुलिपि पुरस्कार (धौलागिरि साहित्य प्रतिष्ठानद्वारा अनुहारहरू (कवितासङ्ग्रह २०५७)का लागि), सिम्पल आर्टस सम्मान (२०६९) स्रष्टा चैत्र ३० सम्मान (२०७४) बाट सम्मानित तथा पुरस्कृत भएको देखिन्छ ।

साहित्यिक एवं अन्य सङ्घसंस्थाहरूको संलग्नता यस्तो रहेको छ : प्रगतिशील लेखक सङ्घ एवं वेदना साहित्यिक, सुनाखरी सन्देश, स्रष्टा  साहित्यिक, ज्योति साहित्यिक पत्रिकाहरूमा (सल्लाहकार), नेपाल सहित्यिक पत्रकार सङ्घ (वरिष्ठ उपाध्यक्ष), देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठान र युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान (उपाध्यक्ष), भवानी घिमिरे साहित्यिक प्रतिष्ठान, पारिजात स्मृति केन्द्र, रमेश विकल साहित्य प्रतिष्ठान, घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान, निर्मल लामा स्मृति प्रतिष्ठानका (कार्यसमिति सदस्य) रहनुभएको छ । उहाँमा साहित्यिकहरूमा पनि प्रज्ञाप्रतिष्ठानमा प्राज्ञपरिषद् सदस्य र प्रलेसको अध्यक्षसम्म कार्य सम्पादन गर्नुका साथै अनेकौँ संस्थाका संस्थापक स्वरूपमा एवं सञ्चालन गर्नुभएको अनुभव र राजनैतिक संस्था सञ्चालन अनुभव पनि रहेको छ । समकालीन साहित्य, कथालय, विकल स्मारिका, आलेखन, ज्योति, वेदना, स्मृतिमा रुद्र खरेल, नेपाली डायस्पोराका कविता, नागार्जुन, जनमत आदि विभिन्न पत्र–पत्रिका र स्मृतिग्रन्थमा सम्पादनको कार्य गर्नुभएको छ । यस्ता अनेक क्रियाकलापमा संलग्न व्यक्तित्वको विषयमा जानकारी दिने क्रममा यो लेखनको उद्देश्य हो - ‘मित्रताको आकाश’ (कवितासङ्ग्रह २०७६) को सन्दर्भमा विहङ्गावलोकन ।

रमाकृष्ण सृजना प्रतिष्ठान, काठमाडौँबाट प्रकाशित यो कृतिमा नेपाली साहित्यका चर्चित व्यक्तित्व साहित्यकार एवं साहित्यिक पत्रकार डी.आर.पोखरेलको भूमिका रहेको छ, कृतिसन्दर्भमा उहाँ भन्नुहुन्छ : कवि समाजको सर्वाधिक सचेत व्यक्ति हो । एउटा सचेत व्यक्ति समाजको दुःखसुखमा निःशब्द रहन सक्दैन । ऊ असंवेदनशील, अनुत्तरदायी असरोकार राखेर रहन पनि सक्दैन । समाजप्रतिको उसको बौद्धिक दायित्व कला सिर्जना मार्फत नै ऊ पूरा गर्दछ र गरिरहन्छ । (पृष्ठ १५) यसैगरी साहित्यकार महेन्द्रबहादुर गुरुङको प्रकाशकीय लेखनमा कवि पोखरेलका सन्दर्भमा भनिएको छ : देशमा आएको राजनीतिक परिवर्तन, परिवर्तनभित्र लुकेका र उजागर हुन उकुस मुकुस भएर रहेका आशा र आकाङ्क्षाहरूलाई अत्यन्त बेजोड शैलीमा अभिव्यक्त गरिएका छन् सङ्ग्रहमा । (पृष्ठ १) कभरपृष्ठमा दिइएको सङ्गीतको भनाइ महत्त्वपूर्ण रहेको छ :  उनको चिन्तनप्रणली र उनको जीवन व्यवहार, त्यो केवल उनको निजी होइन, उनी सम्बद्ध आन्दोलनको वैशिष्ट्यको प्रतिरूप हो । 
यसरी कवि पोखरेलको विषयमा उहाँहरूको टिप्पणी यथाथर्थमा आधारित छ । पोखरेलजीको जीवन त्यस्तै रहेको छ । राम्रोसँग कविताको विषयमा पनि बोलिएको देखिन्छ र कविताको दृष्टिकोण पनि तदनुरूप रहेको पाइन्छ ।

३. ‘मित्रताको आकाश’को समीक्षात्मक विश्लेषण 
कवि मातृका पोखरेल बहुआयामिक व्यक्तित्व हुनुहुन्छ भन्ने कुरा उपर्युक्त परिचयले स्पष्ट पारेको छ । उहाँको कवित्वशक्तिको सन्दर्भमा त उहाँले कथाको एउटा कृतिबाहेक सबै कविताकृति नै प्रकाशन हुनाले पनि रुचि र क्षमता प्रदर्शन गरेको छ । कवितालेखन र सङ्गठनको कार्यमा निरन्तरता मातृकाको स्वाभाविकी पन बन्न पुगेको छ । समसायिक विषयवस्तुलाई आधार बनाएर लेखिएका प्रकाशित कृतिमा ‘मित्रताको आकाश’ कवितासङ्ग्रहसम्म आइपुग्दा समाजप्रतिको सञ्चेतना प्रशस्त देखिन्छ । कवि संवेदनशील प्राणी हो, ऊ समाज कतातिर गइरहेको छ भन्ने कुरा नियालिरहेको हुन्छ । यस्तै सामाजिक सन्दर्भलाई लिएर लेखिएका कविताहरूले मातृकालाई जीवन्त बनाएको छ । 

‘मित्रताको आकाश’ कविको पछिल्लो कृति हो । सङ्ग्रहभित्रको पहिलो कविता नै यही शीर्षकको कविता रहेको छ र समसामयिक छ । यसको शीर्षक प्रतीकात्मक रहेको छ, शासक र शासितबीचको जुन खाडल छ वा अविश्वासको बादल उब्जिएको छ, त्यसले मित्रताको डोरी चुडेको अवस्था सृजना भएको सन्दर्भलाई बोलेको छ भने मित्रता भन्ने यस्तो वस्तु हो जहाँ कहीँ पनि भन्न नसकेको कुरा मित्रसँग भन्न सक्छ मानिसले, त्यो नै छिन्न भिन्न भएपछि आफ्ना   कथा व्यथा कहाँ बिसाउने, नयाँ मित्रको खोजी हुनु जरुरी छ भन्ने पनि सङ्केत गर्छ शीर्षकले, किनकि यो कविता २०६४ सालमा मधुपर्क राष्ट्रिय पत्रिकामा छापिएको कविता हो, त्यस समयमा देशको परिस्थिति क्रान्तिको उचाइ र बिसाइको समय थियो, जहाँ जन आकाङ्क्षाको चुली चुलिएको थियो, तसर्थ यो सबै कुरालाई शीर्षकले समेटेको अनुभूति हुन्छ र सार्थक रहेको छ ।    
  
यसमा छब्बीस उपशीर्षका कविता रहेका छन् । ती हुन् : मित्रताको आकाश, प्रश्नहरूको बाढी, जङ्गबहादुर, चश्मा, ऐना, शहरमा मार्क्स , सडकको सिकार, पहिरो, नयाँ प्रभातको खोजीमा, दिल्लीका मच्छरहरू, युद्धको नाट्यशाला, नागार्जुनको सर्प, सपना र टर्चलाइट, माटोको गन्ध, मैले उतिवेलै भनेको थिएँ, नरेश शाक्यका आँखा, भर्खरैजस्तो लाग्छ, उपाध्याय बाजेको मःमःपसल, बूढो घोडा, ऋषिकुटीतिर फर्केर हेर्दा, लेख्नै बाँनी छ, नयाँ आँधीको स्वागतमा, अनेकोटले हेर्ने आँखा, बाटो छाडेपछि, नक्कली हावा, मान्छेहरूको भर्‍याङ  ।

यसभित्रका कविताहरू विविध विषयवस्तुलाई समेटेर लेखिएको छ । समाजको यथार्थता, वर्गीय दृष्टिकोण, नेपाली संस्कृतिका विविध विकृति/विसङ्गति, नेपालमा चलिरहेको क्रान्तिको सन्दर्भ, विभिन्न व्यक्तिहरूको भ¥याङ चढेर माथि पुगेका व्यक्तिहरूको क्रियाकलाप, समाज परिवर्तनको कुराबाट विमुख भई स्वार्थतिर उन्मुख भएको र योग्य व्यक्तिको कदर नभई जनताप्रतिको जवाफदेहिता नभएको सन्दर्भ, विदेशीहरूको चलखेलले देशमा परेको प्रभावबाट मुक्त हुन नसकेको स्थिति, आप्mनो देशको गौरवपूर्ण इतिहासलाई बिर्सेर एकआपसमा लड्ने प्रवृत्तिहरूलाई राम्रोसँग कविताभित्र आएका विषय हुन् । यसभित्रका केही उदाहरणहरू :

मैले खोजेको थिएँ
साना साना चुहुने खण्डहर झुप्राहरू मिलाऊँ
र एउटा नयाँ सुरक्षित घर बनाऊँ । (पृष्ठ – २३)

शहरबाट माक्र्स हराएको केही समयपछि
मैले उनलाई आज एक्कासी इन्द्रचोकका एउटा पुनो गल्लीमा भेटेँ
उनी बिर्के टोपीको दुकान खोज्दै थिए । (पृष्ठ – ३८)

म तयार छु, अभावका ठूला ठूला शिखरहरू आरोहण गर्न
तर म इतिहासलाई साक्षी राखेर फेरि भन्छु
मैले कलिला नानीहरूको सपना देख्ने आँखाहरूलाई
खेलौना बनाएर खेल्न कहिल्यै सकिनँ । (पृष्ठ – ४५)

यात्रापछिको प्रत्येक विश्रामहरूमा
सुनाइने सबै इतिहासका घटनाहरू 
हामीले सबै सँगसँगै सुनेका छौँ
भरखरै गर्भाधान भएको नयाँ गुगमा श्वास भर्न बाँकी नै छ
बाँकी नै छ नयाँ मुटुहरू जोड्न, मस्तिष्कहरू जोड्न
नयाँ हात र खुट्टाहरू जोड्न......। (पृष्ठ – ६१)

उपर्युक्त दिइएका कवितांशले प्रस्ट पार्दछन् कि यसभित्रका कविता सरल प्रकृतिका छन् । प्रतीकात्मक र व्यञ्जनात्मक भए पनि दुर्बोध्य छैनन् । मानवीय धरातल के हो ? र यसमा मानिसलाई उभ्याउन कत्तिको कोशिस गरिएको छ र नेपाली जनमानसमा परेको प्रभावलाई कसरी व्यक्त गरिएको छ भन्ने कुरा शालीनतापूर्वक व्यक्त गर्ने काम भएको छ । समाजको यथार्थ स्थितिलाई बुझाउन वा आफ्नो  लेखनको उद्देश्य पाठकलाई सम्प्रेषण गर्न प्रत्येक कविता सक्षम छन्, मर्मस्पर्शी रहेका छन्, यो कविको ठूलो सफलता हो । 
यस्ता सुन्दर शब्दसंयोजनले भरिएका कविता नेपाली साहित्यको फाँटमा प्रवेश गराई योगदान गर्नुभएकोमा बधाई तथा शुभकामना दिँदै केही समीक्षात्मक स्वरूपका कवितात्मक भावना व्यक्त गर्दै लेखाइलाई टुङ्ग्याउँछु ।
‘मित्रताको छ आकाश मातृका’ उच्च चेतना
प्रवाहित छ, मान्छेको सङ्गति अनि धारणा ।१।

देश–समाज होस् यस्तो सबैमा सुख्खको क्षण
कसैमा दुख्खको लेश नहोस् भन्ने छ चित्रण ।२।


साहित्य–साधना–पूर्ण–दिव्य प्रभात खोज छ
देख्छु सुधारको यात्रा माटोको गन्ध आउँछ ।३।

कविता–सिर्जनाभित्र देखिन्छ पूर्ण साधना
मानव रूपको आस्था यहाँ छ देशभावना ।४।

कवितो दिव्यताभित्र सौन्दर्यको मुहान छ
चाहेको सृष्टि–माधुर्य राष्ट्र–राष्ट्रिय भाव छ ।५।

क्रान्तिको हुन्छ तात्पर्य देशनिर्माण खातिर
के भयो के भयो भन्ने कविमा हुन्छ आखिर ।६।

‘मातृका’–भाव बर्सियून् बन्दियोस् उच्च सिर्जना
शुभ्रता–भित्रको बर्सोस् बधाई–शुभ–कामना ।७।

000

२०७६ भाद्र १२ विहीवार 
धुम्बाराही, काठमाडौँ ।

रचना-१६२ बाट 


No comments:

Post a Comment