Sunday, February 5, 2017

लौ न, अब त केही गरौं - छविरमण सिलवाल



मान्छेको जीवनमा के कस्तो अवस्था आउँछ त्यो कसैलाई थाहा हुन्न । र, कतिबेला के हुन्छ त्यो पनि थाहा हुन्न । तापनि मान्छे अहम्को पहाड उक्लँदै बसेको हुन्छ । कुर्सीमोहमा उन्मत्त हुन्छ । आउरेबाउरे धुपौरेको वरिपरि घुमिरहेको हुुन्छ । मान्छे जति उक्ले पनि एकपटक झर्नैपर्छ भन्ने कुरा भुलिरहको हुन्छ । सुख सुविधाहरू आफैं मात्र उपयोग गर्छन्, मान्छे शक्तिको वरिपरि घुमिरहेका छन् । पार्टी र वफादार कार्यकर्ताको उन्नतिमा लिन् छन् । लेखकहरूमा पनि पार्टीका झोला बोक्नेहरूको मात्र बोलवाला छ । मर्नेहरू मरिहेका छन्, विकृतिको ज्वाला व्याप्त भएको अवस्थामा आश गर्ने ठाउँ नभए पनि हामीले लेख्न र बोल्न छोडनु हुँदैन । त्यसकारण मैले यी हरफहरू लेखेको हुँ । 


प्रसंग हो साहित्यकार उज्ज्वल जीसीको स्वास्थ्यको । एउटा सर्जक उपचारार्थ दिल्लीको राजिव गान्धी अस्पतालमा लडिरहेको छ । यहाँ सरकार तमासा हेरिरहेको छ । हुनतः उनलाई आफ्नो उपचार गर्न कसैको भर पर्नु पर्दैन थियो होला, तर रोग नै यस्तो भयो कि आफ्नो सामथ्र्यभन्दा बाहिर । मसहित मेरोसाथी लोट्टे लामा र भाइ विष्णु सेढाईंका साथमा माघ २ गते दिल्लीको रोहिणीस्थित राजिव गान्धी अस्पताल पुग्दा उनकी श्रीमती र ज्वाइँको साथमा उपचाररत थिए । उनले भने ‘दोस्रो किमो सुरु भएको छ, रोग मान्छेले चाहेर आउने होइन रहेछ, के गर्ने ? नेपालमा उपचार गर्ने पद्धति राम्रो रहेनछ । यहाँ भने उपचार हुनेमा म ढुक्क छु’, गम्भीर मुद्रामा मसँग आशाका किरणहरू पोख्दै थिए । हेरौं उनले फेसबुकको वालमा व्यक्त गरेका शब्दहरू– ‘अर्काको देश, अर्काको घर र त्यस घरको सानो कोठामा बिरामी बुढा र कुरुवा बुढी दुईजना मात्र हुँदा त अत्यास पोे लाग्दो रहेछ, यस्तै बेला सायद भगवानलाई मानिसले बढी सम्झने गर्छ ।’ 

उज्ज्वल जीसी कवि साहित्यकार मात्र नभएर कलाकार, गीतकार र गायक पनि हुन् । बहुआयामिक व्यक्तित्व भएका जीसीको उपचारमा राज्यले केही सहयोग नगरेको देख्दा भने अचम्मै लाग्छ । पखाला लाग्दा पनि विदेश जाने नेताहरू भएको हाम्रो मुलुकमा साहित्यकार कलाकारहरूको के ‘भ्यालु’ हुन्छ र ? यी सबै अनुत्पादक वस्तुहरू न हुन् भनेर कुनै मान्यता नदिएको हो । साहित्य, कला र संस्कृति देशको गहना हो भनेर सरकारमा बस्नेहरूले कहिले बुझ्ने होला ? जीसीको उपचारमा लाग्ने सबै खर्च सरकारले व्यहोर्न नसके पनि जेजस्तो सकिन्छ सहयोग गर्ने परिपाटी भएमा कोही अकालमा मर्न पर्ने थिएन । 

नेपाली साहित्य र साहित्यकारहरूको हकहितमा काम गर्ने थलो नेपाल प्रज्ञा प्रतिष्ठानले पनि यस बारेमा केही गर्न सकिरहेको छैन । तर केही आशालाग्दो कार्य भने भइरहेको छ भन्छन् प्राज्ञ मातृका पोखरेल, ‘प्रतिष्ठान अहिले साहित्यकार परिचयपत्र दिनका लागि अन्तिम चरणमा पुगेको छ । र यही परिचयपत्रको आधारमा हामीले साहित्यकारहरूलाई के कस्ता सुविधाहरू दिलाउन सकिन्छ भनेर सरकारसँग पहल गरिरहेका छौं । र, प्रज्ञाप्रष्तिठानको तर्फबाट पनि जीसीको उपचारमा केही सहयोग अवश्य नै गरिनेछ । अर्को कुरा हामीले व्यक्तिगतरूपमा पनि जीसीको उपचारमा सहयोग गर्नका लागि पहल चाल्ने नै छौं ।’ प्राज्ञ पोखरेलका यी भनाइबाट केही आशावादी हुन सकिन्छ । 

नेपाली साहित्यका सबै विधामा कलम चलाउने उज्ज्वल जीसीका करिब डेढ दर्जन कृति प्रकाशित भएका छन् । उनको जन्म २०१७ भदौ २७ गते काठमाडौंमा भएको थियो । २० वर्ष सरकारी सेवामा र १० वर्ष संस्थानमा रहेर काम गरेका जीसी तीसको दशकदेखि नै नेपाली साहित्यमा सक्रिय रूपमा लागेका र अहिले पनि निकै सक्रिय रहेका छन् । नेपाली साहित्यको श्रीवृद्धिमा लागेका जीसी करिब तीन दर्जन साहित्यिक संस्थाबाट पुरस्कृत भइसकेका छन् र डेढ दर्जन साहित्यिक संस्थामा प्रत्यक्ष संलग्न रहेर नेपाली साहित्यमा योगदान दिइरहेका सर्जक हुन । 

माघ २ गते दिल्लीमै भेट्दा भर्खर दोस्रो किमो सुरु भएको बताएका थिए । हिजो माघ १९ गते फोन सम्पर्क गर्दा दोस्रो किमो सकाएर रिपोर्ट कुरिरहेको बताएका थिए । मान्छे भएर जन्मिएपछि जे जस्तो परिस्थितिको पनि सामना गर्न सक्नुपर्छ । तर आज रोग पनि आफ्नो हैसियतभन्दा ठूलो भएपछि कसको के लाग्दो रहेछ र ? एउटा सर्जक भएकै नाताले सबैलाई याचना गर्ने मात्र हो । जो जसले जसरी पनि सहयोगको भावना गरेमा उनलाई फेसबुकमार्फत पनि सम्पर्क गर्न सकिन्छ । 

नेपाली साहित्यमा सेवा गर्नका लागि व्यक्तिगतरूपमा पनि धेरै संघसंस्थाहरू खुलेका छन् । नेपाल साहित्यिक पत्रकार संघ पनि छ । तापनि ती सबै सम्मान र अभिनन्दनको वरिपरि मात्र घुमिरहेका देखिन्छन् । एउटाले अर्कोलाई आदानप्रदान गर्ने खाँदा माला र सम्मानपत्र भएपछि मख्ख पर्ने, यसैको वरिपरि घुमेको साहित्यले के साहित्यको विकास होला र ? र, साहित्यकार बिरामी हँुदा सबैसँग गुहार गर्नुपर्ने बाध्यताबाट हामीले निकास खोज्नु पर्छ कि ? राम्रोभन्दा पनि हाम्रोको बोलवाला भएको हाम्रो समाजमा विकृतिका पहाडहरू चुलिएको चुलिएकै छन् । नेपाली राजनीतिले जताततै छताछुल्ल बनाएको छ, अनि साहित्य के चोखो होस् । हरेक मान्छेले अप्ठ्यारो पर्दा मात्र सहयोगको याचना गर्ने हो, यो कुरा राज्यले कहिले बुझ्ने हो । नेपाल साहित्यिक पत्रकार संघका महासचिब मोहन दुवाल भन्नुुहुन्छ– ‘जबसम्म राज्यले कला, साहित्य, संस्कृतिको महत्व बुझ्दैन, तबसम्म राज्यसँग हामीले याचना गर्नुको कुनै अर्थ छैन । जति बोले पनि बहिरोे भएको स्वाङ् गरेपछि कसको के लाग्छ र ? तापनि हामीले आवाज उठाउन भने छोड्नु हुँदैन । त्यसकारण हामी सबै मिलेर साहित्यकार उज्ज्वल जीसीको उपचारका लागि कुरा उठाउँनेछौं ।’

मान्छेको जातै त्यस्तै हो आफू नमरी स्वर्ग देखिँदैन भन्ने उखान जस्तै । भोग्नेलाई मात्र थाहा हुन्छ चोटको पीडा । अब हामी स्वयम् उठ्नुपर्ने समय आएको छ । आज उज्ज्वल जीसीको उपचारका लागि मात्र नभएर सम्पूर्ण साहित्यकारहरूको हकहितका लागि पार्टीभन्दा माथि उठेर आवाज बुलन्द बनाउने समय आएको छ । 



http://ehimalayatimes.com बाट साभार 

No comments:

Post a Comment