Monday, April 15, 2019

कसले गरायो सिलवालको आत्महत्या ? - - बिवस बस्ति

जुन दिन प्रेस काउन्सिलको सदस्यमा साहित्यिक पत्रकारको कोटाबाट एकजना गैरसाहित्यिक पत्रकारले नियुक्ति पाएको विरुद्ध सर्वोच्च अदालतमा बहस पैरवी चल्दै थियो, त्यही दिन नेपाल साहित्यिक पत्रकार संघका संस्थापक अध्यक्ष नकुल सिलवालले आफ्नै घरमा स्वेच्छाले मृत्युवरण गरेको खबर साहित्य र गैरसाहित्य दुवै वृत्तमा व्यापक भइसकेको थियो । कस्तो संयोग, सरकारले गैरसाहित्यिक पत्रकारलाई साहित्यिक पत्रकारको कोटाबाट प्रेस काउन्सिलमा नियुक्त गरेर साहित्यिक पत्रकारहरूको अपमान र मानमर्दन गरिरहेकै समय करिब तीन दशकभन्दा लामो अवधिदेखि साहित्यिक पत्रकारितामा अविच्छिन्न यात्रारत एक अग्रज साहित्यिक पत्रकारले आफ्नो घाँटीमा पासो बेहोर्न पुगे । यो एउटा दु:खद अध्याय मात्र थिएन, राज्यले साहित्यिक पत्रकारिताप्रति अपनाइरहेको रवैयाको नांगो उदाहरण पनि थियो । र, आज कुनै साहित्यिक पत्रकार किन आफूलाई आत्महत्या गर्ने तहसम्म पुर्‍याउन बाध्य छन् ? यसको सटीक जवाफ खोज्न कहीँकतै भड्किइरहनुपर्दैन, विगत लामो समयदेखि साहित्यिक पत्रकारिताप्रति राज्यले अपनाउँदै आएको उपेक्षा भावबाटै प्रस्ट हुन्छ । ऐन र कार्यविधि मिचेर साहित्यिक पत्रकारको प्रतिनिधित्व गराउनुपर्ने निकायमा गैरसाहित्यिक पत्रकारहरूलाई नियुक्ति दिनु त एउटा सामान्य पक्ष मात्रै हो । राज्यको नजरमा ‘निरीह’ साहित्यिक पत्रकारलाई लैजानुभन्दा आफ्ना भाट र चम्चेहरूलाई लैजानुमा नै सरकारले महानता ठान्यो सायद । तर, त्योभन्दा गहन प्रश्न त नकुल सिलवालजस्ता साहित्यिक पत्रकारितामा कपाल फुलाएका व्यक्ति किन आत्महत्याको बाटो रोज्न बाध्य छन् भन्ने नै हो । ढिलोचाँडो राज्यले यसको समुचित जवाफ दिनैपर्छ ।
तीन दशकदेखि सिलवालले आफ्नै एकल प्रयत्नमा ‘बगर’ निकाल्दै आइरहनुभएको थियो । उहाँका सहयोगीका रूपमा कुनैबेला परिवारका सदस्यहरू जोडिनुभयो होला र कुनै बेला शुभेच्छुक र साथीभाइ पनि जोडिए होलान् । तर, सरकारी एवं संस्थागत लगानीमा अरू साहित्यिक पत्रिकाहरू निस्किरहेका बेलामा पनि बगरले भने अरू पत्रिकाहरूभन्दा बेग्लै उचाइ र मापन कायम राखेको थियो । खासगरी, नेपाली साहित्यिक पत्रकारिताको विकासमा ‘रूपरेखा’जस्ता पत्रिकाले जुन विशिष्ट योगदान प्रदान गरेको थियो, त्यो योगदानलाई निरन्तरता दिने अभिप्रायस्वरूप बगरजस्ता पत्रिकाको अभ्युदय हुन पुगेको थियो । अभिव्यक्ति, रचना, लहर, वेदनादेखि तीसको दशकदेखि नै साहित्य–वृत्तमा स्थापित र पछिल्लो समयका शब्द–संयोजन, कौशिकी, शब्दांकुरलगायत पत्रिकाहरूले नेपाली साहित्यिक पत्रकारितालाई समृद्ध, फराकिलो र सघन बनाउन जति भूमिका खेलिरहेको छ, बगरले अरूभन्दा केही पृथक् र गहन कार्य गरेर साहित्यिक पत्रकारिताको यात्रालाई शिखरमा पुर्‍याउने कार्य गरेकोमा दुईमत रहँदैन । त्यसका निम्ति, केवल एकजना व्यक्तिको दौडधुप, चिन्तन र क्रियाशीलता नै मुख्यत: हावी रह्यो र बगरलाई पठनीय, गहन सामग्रीहरूले भरिपूर्ण र एउटा अर्थपूर्ण साहित्यिक पत्रिका बनाउने कार्य अग्रज पत्रकार सिलवालले जीवनका अन्तिम क्षणसम्मै कायम राख्नुभयो । उहाँको यो स्तृत्य प्रयत्न र कार्यलाई नेपाली साहित्यिक पत्रकारिता क्षेत्रले सधैं सम्मानित नजरले हेरिरहनेछ ।
धेरै साहित्यिक पत्रिकाहरूको आफ्नै इतिहास र निरन्तरता रहँदारहँदै र देशका अधिकांश सहरी क्षेत्रमा साहित्यिक पत्रकारिता गर्नेहरूको लामै सूची रहे पनि साहित्यिक पत्रकारहरूलाई एउटै थलोमा उभ्याउने कार्य भइरहेको थिएन । साहित्यिक पत्रकारहरूको नाम मात्रैको एउटा संघ भए पनि त्यसले देशभरि आ–आफ्नै प्रयत्नमा साहित्यिक पत्रिका निकालिरहेका पत्रकारहरूलाई समेट्ने कार्यमा उदासीनता देखाइरहेको थियो । अझ, साहित्यिक पत्रकारको नाममा गैरसाहित्यिक व्यक्तिहरूलाई सदस्यता बाँडेर गन्जागोल अवस्थामा रहेको संघबाट साहित्यिक पत्रिका र पत्रकारहरूको हितमा कुनै गतिलो कार्य नहुने ठहर भएपछि ०६२/६२ को जनआन्दोलनले सफलता पाएलगत्तै ‘नेपाल साहित्यिक पत्रकार संघ’ स्थापना भयो । तर, उक्त संघको आवश्यकता भने धेरै अघिदेखि नै महसुस गरिएको थियो । खासगरी, नकुल सिलवाल, मातृका पोखरेल, कैलाश भण्डारी, चेतनाथ धमला र मेरो सुरुवाती प्रयत्नले नै संघ स्थापनाको दैलो उघ्रिन प्रारम्भ भएको थियो । संघको आवश्यकता किन पनि महसुस भएको थियो भने पञ्चायतकालमै जन्मिएको अर्को संघमा मण्डले पृष्ठभूमिका व्यक्तिहरूको बाहुल्य भएको हुँदा प्रजातान्त्रिक र वाम विचार बोक्ने साहित्यिक पत्रकारहरू उक्त संघमा समेटिन सम्भव थिएन । त्यही भएर, परिवर्तनशील विचार बोक्ने देशभरिकै अग्रज र युवा पुस्ताका पत्रकारहरूलाई समेट्ने ध्येयस्वरूप नेपाल साहित्यिक पत्रकार संघको जन्म हुन पुगेको थियो । काठमाडौंमा सक्रिय रूपले साहित्यिक पत्रकारिता गरिरहेका करिब एक दर्जनजति पत्रकार सिलवालको भीमसेनगोलास्थित घरमा एक मध्याह्न जुटेर संघको तदर्थ समिति गठन भएको थियो । नकुल दाइलाई संयोजक बनाएपछि सचिवको जिम्मेवारी मेरो काँधमा आएको थियो र मातृका पोखरेल, चेतनाथ धमला, प्रकाश सिलवाल, नवराज पुडासैनी र लक्ष्मी उप्रेती सम्मिलित तदर्थ समिति बनेको थियो । र, छोटो समयमै अग्रज पत्रकारहरू रोचक घिमिरे, मोहन दुवाल, नगेन्द्रराज शर्माहरूलाई समेटेर संघलाई पूर्वदेखि सुदूरपश्चिमसम्मकै साहित्यिक पत्रकारहरूको साझा थलो बनाउने कार्य भएको थियो । जसका लागि नकुल सिलवालको पहल र दृष्टिकोणलाई सधैं नमन गर्नु नै उहाँप्रति साहित्यिक पत्रकारितामै झुन्डिरहेकाहरूले सच्चा श्रद्धा अर्पेको ठान्न सकिन्छ ।
०६२/६३ को जनआन्दोलनपछि संगठित रूपमा अगाडि बढेका साहित्यिक पत्रकारहरूकै पहलमा साहित्यिक पत्रकारितालाई पहिलेभन्दा दयनीय रूपले हेर्ने र राज्यबाट उपेक्षा मात्र थोपरिने क्रममा भने निश्चय नै कमी आएको छ । साहित्यिक पत्रिकाहरूलाई पनि वर्गीकरणको दायरामा ल्याउने र सीमित भए पनि वर्षमा एकपटक अनुदान दिने कार्य राज्यबाट भएको छ । यी सबै संगठित पहलकै उपज हो । तर, राज्यले साहित्यिक पत्रिकालाई दिइरहेको अनुदान र सुविधा त्यति पर्याप्त छैन, यो केवल भँगेराहरूलाई भुल्याउन धानको गेडा छरेजस्तो मात्रै हो । अझ सरकारले नै बकाइदा ऐन र कार्यविधिमै साहित्यिक पत्रकारहरूका निम्ति छुट्टयाएको प्रेस काउन्सिलको कोटामा जिन्दगीभर एउटै साहित्यिक पत्रिका ननिकालेका, कुनै साहित्यिक पत्रिकामा आबद्ध नभएका गैरसाहित्यिक पत्रकारलाई नियुक्ति दिनुले साहित्यिक पत्रकारिताप्रति सरकारको नजर त्यति सकारात्मक छैन भन्ने सन्देश अहिले प्रवाहित भएको छ । साहित्यिक पत्रकारिताप्रति राज्यले नै उपेक्षा देखाइरहेको यो समय, एकजना अग्रज साहित्यिक पत्रकारले जीवनमा अरू विकल्प नदेखेर आफ्नै घाँटीमा पासो लगाउनुजति दु:खद पक्ष अरू केही हुन सक्दैन । दिवंगत नकुल सिलवालको आत्महत्यालाई राज्यले एउटा साहित्यिक पत्रकारप्रति, एउटा स्रष्टाप्रति देखाएको उपेक्षा भावको परिणतिका रूपमा बुझ्न सकिएन भने आगामी दिनमा झन् अनर्थ हुन्छ । आज एकजना साहित्यिक पत्रकार किन आत्महत्या गर्ने तहसम्म ओर्लिन्छन् ? राज्यले समयमै बुझ्नु आवश्यक छ ।

www.ebudhabar.com बाट साभार 

No comments:

Post a Comment