Wednesday, March 25, 2020

ढकालको स्मृति ग्रन्थ

सौर्य अनलाइन  / २०७५ फागुन २७ गते



काठमाडौं । प्रगतिवादी साहित्यकार घनश्याम ढकालको स्मृतिमा ‘घनश्याम ढकाल स्मृति ग्रन्थ’ प्रकाशित गरिएको छ । नेपाल प्रज्ञा प्रतिठानमा आयोजित एक कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव एवं माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुति, घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष निनु चापागाई र ढकालकी जीवनसंगिनी पारु ढकालले उक्त कृतिको संयुक्त रुपमा विमोचन गरे ।
स्व. ढकाल एक अथक सांस्कृतिक योद्धा भएको बताउँदै माक्र्सवादी सौन्दर्यचिन्तक ‘किरण’ ले नेपालका कम्युनिस्ट नेता र संस्कृतिकर्मीले उनीबाट पाठ सिक्नुपर्ने बताए । उनले नेपालको प्रगतिवादी साहित्यमा ढकालको अतुलनीय योगदान रहेको जिकिर गर्दै भने, ‘इमान्दारीपूर्वक ढकालले नेपालको प्रगतिशील साहित्य तथा सौन्दर्यका क्षेत्रमा काम गर्नुभएको थियो ।’
आहुतिले नेपालको प्रगतिशील र प्रगतिवादी सांस्कृतिक तथा साहित्यक आन्दोलनलाई नयाँ परिवेशसँगै नयाँ ढंगबाट उठाउनुपर्ने जिकिर गरे ।
साहित्यकार ढकाल र स्मृति ग्रन्थका बारेमा बोल्दै प्रतिष्ठानका अध्यक्ष तथा सौन्दर्यचिन्तक चापागाईंले स्मृति ग्रन्थमा ९३ व्यक्तिका ९५ रचनालाई भिन्दाभिन्दै ४ खण्डमा विभाजन गरेर प्रकाशित गरेको जानकारी दिए । उक्त ग्रन्थलाई घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले प्रकाशन गरेको हो । सो स्मृति ग्रन्थको प्रधान सम्पादक निनु चापागाईं, कार्यकारी सम्पादक वन्दना ढकाल र सम्पादकहरूमा डा. अमर गिरी, डा. कृष्णराज अधिकारी, मातृका पोखरेल, विनोदविक्रम केसी, विष्णु भण्डारी रहेका छन् ।
ढकालको २०६८ फागुन १ गते जनयुद्ध दिवस मनाउने जानेक्रममा काठमाडौंको भृकुटीमण्डपमा मोटरसाइकलको ठक्करबाट निधन भएको थियो । ढकालका विभिन्न विधानका १६ कृति प्रकाशित रहेका छन् ।
www.souryaonline.com बाट साभार 

No comments:

Post a Comment