Friday, September 28, 2018

दाहाल यज्ञनिधि : डायलासिस जीवनको दुःखद अन्त्य - प्रकाश सिलवाल

तस्बिर : ठाकुर बेलवासेको फेसबुकबाट

काठमाडौं। शुक्रबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा दाहाल यज्ञनिधिका आफन्त र शुभेच्छुकहरु निराश स्थितिमा भेटिएका थिए।
मिर्गौला प्रत्यारोपणपछि नियमित डायलासिसका २३ वर्ष बिताएका साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधि मस्तिष्काघातका कारण अस्पतालको सघन उपचार कक्षमा अचेत अवस्थामा थिए। मस्तिष्कको शल्यक्रिया गर्ने या नगर्ने, गरेर उनको जीवन बच्न सक्ने-नसक्ने वा शल्यक्रिया गर्दा नियमित डायलासिसलाई असर पर्ने त होइन भन्ने जिज्ञासा परिवारका सदस्य र चिकित्सकहरुबीच छलफल चलिरहेको थियो। बिरामीलाई भेट्नका लागि उनका श्रीमती र परिवारका सदस्यलाई पनि दिइएको थिएन।
उनको समग्र अवस्था हेरेर श्रीमती सुधा दाहाल र चिकित्सक डा वसन्त पन्त सहितको टोलीले मस्तिष्कको शल्यक्रिया नगरी नियमित डायलासिससहित अब्जर्भेसनमा राख्न धापाखेलको सुमेरु अस्पतालमा ‘रेफर’ गर्ने निर्णय गरेको थियो। अन्ततः साँझ दाहाललाई बचाउन नसक्ने घोषणा चिकित्सकले गरिदिए। 
पछिल्लो समय रेडियो अन्नपूर्णमा हरेक शनिबार प्रसारित हुने ‘जदौँ’ कार्यक्रमको सञ्चालक रहेका यज्ञनिधिलाई साहित्य र पत्रकारिताका खरो स्वभावका देशभक्त र राष्ट्रवादी स्रष्टाका रुपमा लिइन्छ। झर्रावादी शैलीका दाहालले लामो समय दरबार हाई स्कूलमा नेपाली विषयको शिक्षण पनि गरेका थिए।
“कार्यक्रम सञ्चालनबापत मासिक तलब लिएर पत्रकार र कर्मचारीलाई चिया ख्वाउथे। उहाँ यसपल्टको शनिबारको कार्यक्रम सञ्चालनको तयारीमा हुनुहुन्थ्यो तर अचानक हामीले उहाँलाई गुमाएका छौँ,” रेडियोका स्टेशन म्यानेजर एवं साहित्यकार ठाकुर बेलवासेले भने। मृत्युलाई पटक पटक नजिकबाट नियाँले पनि बाँच्नुको कलाबारे बोल्नु पर्दा थकित नहुने दाहाललाई युवा पुस्ताका स्रष्टा र सञ्चारकर्मीले पनि उद्घोषणकला र साहित्य सिर्जनाबारे सम्मानका साथ लिले गरेका छन्।
साहित्यकार-रेडियोकर्मी यज्ञनिधिको भौतिक शरीर नरहेसँगै उनले रेडियो तरङ्गमा छाडेर गएका साहित्यिक वाणीहरु अमर भएका छन्। खोटाङको धारापानीमा २०१० साल साउन ८ गते जन्मेका दाहाल २०३० सालमा साहित्यमा लागेका उनले भानु मावि, दरबारमार्गमा लामो समय शिक्षण गरेका थिए। यसैबीच २०३४ सालमा रेडियो नेपालमा कार्यक्रम सञ्चालक बनेका उनको २०५७ फागुन १० मा मिग्रौँला प्रत्यारोपणका कारण साहित्यिक कार्यक्रमको यात्रामा अल्पविराम लागेको थियो।
पञ्चायतकालदेखि रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रम सञ्चालक भएर, लोक जनजीवनका साहित्य, संस्कार, स्वर र शैलीलाई टिप्दै ‘जदौँ स्रोता, जदाँ, खुल्यो साहित्य संसारको दैलो’ भन्ने यज्ञनिधिलाई गाउँ गाउँका बूढापाकाले समेत सम्झन्थे। पछिल्लो दशकका उनलाई अभिनन्दन गर्न गठित आयोजक समितिको ग्रन्थ, साहित्यकार रमेश शुभेच्छुको सम्पादनमा प्रकाशित ‘जदौँ’ कृति भयो भने पछि ‘जदौँ’ साझा प्रकाशनले उनको निबन्ध प्रकाशन गरेको छ।
बोलीमा मिठास अनि भाषामा लयात्मकता र झर्रौपना अनि गणतान्त्रिक विचारले परिस्कृत यज्ञनिधिले लोकतान्त्रिक साहित्यिक आन्दोलनका समयमा आफ्नो अनामनगरस्थितको निवासलाई गणतन्त्र काव्यटार घोषणा गरेको विशेष स्मरणीय मानिन्छ। नाम नभएको नगरका रुपमा अनामनगरको नाम पनि दाहालले राखेका थिए।
नागार्जुन साहित्यिक प्रतिष्ठानका सल्लाहकार हुँदै लोकतान्त्रिक साहित्यकार सङ्घ र पछि लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चलाई अस्तित्वमा ल्याई सक्रिय गराउन उनले जनताको सत्ता र लोकजीवनको सधैँ वकालत गरेका थिए। “दासता र रैतीबाट मानिसलाई नागरिक बनाउनुपर्छ भन्ने त्यसबेला देखिकै मेरो अभियान हो। शरीरले साथ दिएको भए अहिले पनि त्यसलाई निरन्तरता नै दिने थिएँ,” उनले भन्ने गर्थे।
यसैबीच प्रगतिशील संघका अध्यक्ष मातृका पोखरेलले दाहाल सोच र चिन्तका हिसाबले क्रान्तिकारी एवं प्रगतिशील थिए भन्दै उनको निधनबाट समाजले सांस्कृतिक रुपान्तरणको एक अग्रजलाई गुमाउनु परेको बताए। 
रासस
www.hamrakura.com बाट साभार 
प्रकाशित मिति : २०७५ श्रावण २५ शुक्रबार

No comments:

Post a Comment