Monday, October 8, 2018

भानु साहित्यिक मासिक पत्रिकाको ५६ औँ वार्षिकोत्सव सम्पन्न ।

पुरानो साहित्यिक पत्रिका भानु मासिकको ५६ औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ । भानुका पूर्व सल्लाहकार बरिष्ठ साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा भानुले प्रदान गर्दै आएका तिन ओटा पुरस्कारहरु अर्पण गरिए । भानु–भवानी साहित्यिक पत्रकारिता सम्मानबाट ऐतिहासिक त्रैमासिक पत्रिका पूर्णिमाका सम्पादक प्रा. दिनेशराज पन्त, भानु–कस्तुरा संघर्षशील नारी सम्मानबाट पूर्व संसद् संघर्षशील नारी प्रतिभा कवि कुन्ता शर्मा र भानु– रचना पुरस्कारबाट युवा नाटककार एवम् नाट्यकर्मी पुरु लम्साल सम्मानित हुनुभयो । कार्यक्रममा सम्मानित प्रतिभा प्रा. पन्तले सम्मानले पत्रिकालाई अझ खोजमूलक बनाउन र जीवन्त राख्न प्रेरणा मिलेको बताउनुभयो । अर्का सम्मानित प्रतिभा कुन्ता शर्माले आफूलाई साहित्यिक संघसंस्थाले प्राय विर्सन थालेका बेला भानुले सम्झिएको खुसी प्रकट गर्दे नेपाली नारी आन्दोलनमा अझै आफ्नो खाँचो रहेको बताउनुभयो । युवा नाटककार पुरु लम्सालले नाटक लेखनतर्फ पहिलो पुरस्कार पाएको खुसी साट्तै अग्रजहरुसँग सम्मानित हुँदा थप हौसला मिलेको बताउनुभयो । सभाध्यक्षको आसनबाट बोल्नुहुँदै भानुका सम्पादक एवम् साहित्यकार रमेश शुभेच्छुले भानु र भवानी घिमिरे पर्याय भएको, यी दुवै पात्र नेपाल र भारतका सांस्कृतिक दूत पनि भएको हुँदा भानु र भानु पत्रिका र यसका संस्थापकहरु भवानी घिमिरे र कस्तुरा घिमिरेका नाममा दुईवटा र भानुमा प्रकाशित रचनालाई दिनेगरी अर्को एउटा गरी तीनवटा पुरस्कार अर्पर्ण गरिादै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ः हामी भवानी घिमिरेका उत्तराधिकारी हौँ । घिमिरेले सही उत्तराधिकारी छनोट गरेकै कारण भानु आज पनि जीवित छ । भानुले माधव घिमिरे, लैनसिंह वाड्देल, वासुदेव त्रिपाठी, बालकृष्ण पोखरेल, गोविन्द घट्ट हुँदै गंगाप्रसाद उप्रेतीसम्मको परामर्शमा आफूलाई यहाँसम्म ल्याएको र यसको विकासमा पूर्व सम्पादकहरुको योगदान पनि त्यत्तिकै रहेको भन्दै पूर्वसम्पादकहरुलाई सम्झनुभयो । उहाँले सम्ममानित प्रतिभाहरुलाई भरिसक्के प्रतिभा होइन संस्था पुरस्कृत हुने गरी छनोटको प्रयास भएको पनि दावि गर्नुभयो । समारोहमा प्रमुखअतिथि प्रा.डा. वासुदेव त्रिपाठीले भानु र भवानी घिमिरेको चर्चा केही संस्मरण र केही विश्लेषण गर्दे योग्य प्रतिभालार्य सम्मान गर्न पाएकामा खुसी प्रकट गर्नुभयो । नेपाली शोधका विकासमा भवानीले नेपालका लागि भारतका र भारतका लागि नेपालका सामग्री उपलब्ध गराएर अवैतनिक दूतको काम गरेको मूल्यांकन गर्नुभयो । साहित्यिक पत्रकार रोचक घिमिरेले भवानी घिमिरेसँगका केही रमाइला संस्मरण सुनाउँदै पुरस्कृत प्रतिभालाई र भानुलाई शुभकामना दिनुभयो । भानुका संरक्षक डा. रामप्रसाद ज्ञवालीले भवानी घिघिरेको कृतित्वको चर्चा गर्नुभयो । प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले प्रगतिवादी साहित्यिक आन्दोलनमा प्रगतिशील लेखकसंघको स्थापना देखि सडक कविता क्रान्तिलगायतका अभियानको चर्चा गर्दे भवानी घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्यसचिव जीवेन्द्रदेव गिरी, डा. कृष्णप्रसाद घिमिरे, गोविन्द घिमिरे वेदमणि, विष्णुबहादुर सिंह, डम्बर घिमिरे, गणेश घिमिरे मार्मिक, पूर्व सम्पादकहरु नरनाथ लुइटेल, गंगा कर्माचार्य पौडेल, छविरमण सिल्वाल, साहित्यकार मुकुन्द पथिक, डा देवी क्षेत्री दुलाललगायतका विशिष्ट लेखकहरुको उपस्थिति थियो । संस्थाका तर्फबाट सहसम्पादकहरु बलमुकुन्द कार्की र परशुराम पराजुलीले पनि भानु र भवानी घिमिरेबारे मन्तव्य राख्नुभएको थियो । सिन्धुपाल्चोकका कवि जगन्नाथ आचार्यले कार्यक्रममा शुभकामना कविता प्रस्तुत गर्नुभयो । कार्यक्रम प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आर.आर) को नवनिर्मित विशेष सभाहलमा भएको थियो । 

रिपोर्ट : गीता सापकोटा














No comments:

Post a Comment