Monday, December 23, 2019

रमेश विकलको बाह्रौँ स्मृतिसभा सम्पन्न |

आज २०७६ साल पुस ५ गते राजधानीको साहित्य सदन रामहिटीमा आयोजित एक समारोहमा रमेश विकल साहित्य प्रतिष्ठानले शब्दपथ पेजका सञ्चालक किशोर पहाडीलाई पनि पुरस्कृत गरेको समाचार छ | नेपाली आख्यान क्षेत्रका यशस्वी साधक रमेश विकलको बाह्रौँ स्मृतिसभामा अन्य पाँच विशिष्ट व्यक्तित्त्वहरूका साथ पहाडीलाई "रमेश विकल सिर्जना पुरस्कार" द्वारा पुरस्कृत गरिएको हो |

प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्व तथा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पहाडीका अतिरिक्त वरिष्ठ पत्रकार भैरव रिसाललाई “रमेश विकल वाङ्मय पुरस्कार”, समाजसेवी सुदर्शन सिग्देललाई “रमेश विकल सुशीला समाजसेवा पुरस्कार”, बालसाहित्यकार प्रा.डा. ध्रुव घिमिरेलाई “रमेश विकल बालसाहित्य पुरस्कार”, समाजसेवी नारी व्यक्तित्व रेणु शर्मा उप्रेतीलाई “रमेश विकल–सुशीला नारीसेवा सम्मान पुरस्कार” तथा सङ्गीतविज्ञ शिशिर योगीलाई "रमेश विकल सङ्गीत पुरस्कार" अर्पण गरिएको थियो । समाजसेवी सुदर्शन सिग्देल समारोहमा उपस्थित हुन नसक्नुभएको हुँदा उहाँको पुरस्कार उहाँको भाइ मुरारि सिग्देलले ग्रहण गर्नुभएको थियो | पुरस्कृतहरूलाई दोसल्ला ओढाइनुका साथै सम्मानपत्र तथा नगदराशि अर्पण गरिएको थियो ।

राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रममा मन्चमा आशिन सबैले कथाकार रमेश विकलको तस्वीरमा माल्यार्पण गरेपछि प्रतिष्ठानका महासचिव विजय चालिसेले स्वागत गर्नुभएको थियो | अन्य मन्तव्य व्यक्त गर्ने महानुभावहरू नेपाल ललितकला प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, रमेश विकल प्रतिष्ठानका उपाध्यक्ष प्रा.डा. हेमनाथ पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायलगायत थिए |

कार्यक्रमको सञ्चालन कवि मातृका पोखरेलले गर्नु भएको थियो | कार्यक्रमको अन्त्यमा विकलको कथा 'मधुमालतीको कथा'मा निर्माण गरिएको चलचित्र पनि प्रदर्शन गरिएको थियो |



शब्दपथ  बाट 

----------------------------------------------------------------------------------


गोरखापत्र दैनिक, २०७६ साल पुस ६ गते प्रकाशित 

----------------------------------------------------------------------------------

• कथा खबर •
~मिति २०७६ पुस ५ गते, काठमाडौं ।



आज एक समारोहका विच कथासाहित्यमा चार दसकभन्दा बढी देखि समर्पित एवं उल्लेख्य पहिचान बनाएका कथाकार किशोर पहाडी Kishore Pahadiलाई सुप्रसिद्ध कथाकार रमेश विकलको नामबाट पुरस्कृत गरिएको खबर छ । श्री विकलको आज बाह्रौं स्मृति दिवस मनाएर स्मरण गर्ने क्रममा यो पुरस्कार प्रदान गरिएको थियो । 'रमेश विकल सृजना पुरस्कार-२०७६' नाम उल्लेख भएको सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि रहेका सत्यमोहन जोशीका हातबाट अर्पण गरिएको थियो ।

कार्यक्रममा रमेश विकलको नामका अन्य पुरस्कार पनि विभिन्न विधा/क्षेत्रका प्रतिभालाई अर्पण गरिएको थियो । रमेश विकल वाङ्मय पुरस्कार, रमेश विकल-सुशीला समाजसेवा पुरस्कार, रमेश विकल बाल साहित्य पुरस्कार, रमेश विकल सुशीला संघर्षशील नारीसेवा पुरस्कार र रमेश विकल सङ्गीत पुरस्कारबाट क्रमशः भैरव रिसाल, सुदर्शन सिग्देल, प्रा.डा.ध्रुव घिमिरे, रेणु शर्मा उप्रेती पुरस्कृत भएका थिए । (यो 'कथा' नाम गरेको समूह भएको हुँदा कथाकार एवं कथासाहित्यका लागि दिइएको पुरस्कारलाई मात्र विशेष उल्लेख गर्न खोजिएको छ ।)

कार्यक्रम रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारी, काठमाडौंले आयोजना गरेको थियो । विभिन्न वक्ताहरूले आफ्नो मन्तव्य राखेको यस कार्यक्रमको सभापतित्व प्रतिष्ठानका समेत अध्यक्ष रहेका वरिष्ठ पत्रकार/साहित्यकार रोचक घिमिरेले गरेका थिए । कार्यक्रम सञ्चालन गरेका थिए कथाकार मातृका पोखरेलले ।
तस्बिर श्रोत : मेरो मोबाइल क्यामेरा ।
खबर श्रोत : म आफैं ।



------------------------------------------------------------------------------








No comments:

Post a Comment