Friday, September 28, 2018

अलकापुरी भक्तपुर र भक्तपुर दरवारका मल्लकालीन भारदारहरु


नेपाल समाचारपत्र, भक्तपुर ।

साहित्यकार तथा लेखक जितेन्द्र रसिकको आठौं कृति अलकापुरी भक्तपुर र संस्कृतिविद् ओम धौभडेलको भक्तपुर दरवारका मल्लकालीन भारदारहरु नामक दुई कृति एकै साथ सार्वजनिक गरिएको छ ।

भक्तपुरे सुर्यविनायकमा आयोजित एक समारोहकाबीच २०७५ साल असोज ३ गते  सो पुस्तक सार्वजनिक गरिएको हो ।

समारोहमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले विभागको नजर पुग्न नसकेको सम्पदा र संस्कृतिको क्षेत्रमा समेत अलकापुरी भक्तपुर कृतिमा समेटिएकोमा खुशी व्यक्त गर्नुभयो ।

सो अवसरमा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले भानुभक्त आचार्य काठमाडौ आउँदा भक्तपुरसम्म नआइपुगेकाले काठमाडौलाई मात्र अलकापुरी देखेको तर रसिक भक्तपुरसम्म आइपुग्दा अलकापुरी भक्तपुर सिर्जिएकाले सिंगो भक्तपुर जिल्ला गौरवान्तित भएको धारणा राख्नुभयो ।

उहाँले हाल सम्म प्रकाशित भक्तपुरका सबै पुस्तकहरुमा मण्डपशैलीका मन्दिरलाई प्यागोडा लेख्दै आएकोमा आपत्ति जनाउँदै उहाँले भन्नुभयोे ‘अलकापुरी भक्तपुर कृतिले त्यो भ्रम चिरेर मण्डपशैलीका सम्पदाहरुका विषयमा स्पष्ट पारेकोले यो पुस्तक निकै महत्वपूर्ण रहेको छ । कुनै समयमा साँखु सम्पदासँगै साँखु पनि पहिले भक्तपुर नै थियो भन्ने तथ्यलाई उजागर गरेको छ । ’

अलकापुरी भक्तपुर कृतिले नेपालका सम्पदा पुजक आन्तरिक तथा बाह्य पर्यटनमा सघाउने संस्कृतिविद् ग्वंगःको भनाई छ । संस्कृतिविद् तथा लेखक ओम धौभलेलको कृति ‘भक्तपुर दरवारका मल्लकालीन भारदारहरु’ले आजको पुस्ताहरुलाई आफ्नो पुर्खाहरु चिन्ने मौका मात्र नभई भक्तपुरका संस्कृति र सम्पदाका क्षेत्रमा कुन भारदारकहरुको योगदान कस्तो रहेको थियो भन्ने समेत जानकारी दिने ऐतिहासिक पुस्तक रहेको छ ।

वरिष्ठ समालोचक डा. देवीप्रसाद सुवेदीले भक्तपुरकै दुवै कृति मौलिक र यथार्थ विवरण, इतिहास र सम्पदाको नालीबेली भएकाले सम्पदा र मल्लकालीन भारदारका विषयमा जान्न र खोज अनुसन्धान गर्न चाहनेलाई उपयोगी कृति भएको बताउनुभयो ।

भक्तपुर भ्रमणमा आउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि र यो कृतिले भक्तपुर भ्रमणमा आउने यहाँका संस्कृतिका विषयमा जान्न चाहनेका लागि यो कृतिले सघाउने र भक्तपुरका मठ मन्दिर जात्रा, संस्कृति, इतिहास, समाज बारे जान्न सहज हुने अपेक्षा गरेको रसिकको भनाई छ ।

भक्तपुरका मल्लकालिन भारदार कृतिका लेखक ओमप्रसाद धौभडेलले मल्लकालीन समयमा भारदारहरु को को थिए तिनीहरुका योगदान भक्तपुरको संस्कृति, सम्पदा निर्माण देखि विकास सम्मका विषयवस्तु बारे कृतिबाट जानकारी लिन सक्ने बताउनुभयो । उहाँले कतिपय नलेखिएका इतिहास र आफु भारदारका सन्तान हुँ भन्ने विर्सिएका उनीहरुकै सन्ततीलाई समेत पूर्खाको योगदान जान्ने अवसर समेत सो कृतिले दिने बताउनुभयो ।

कार्यक्रममा दुबै पुस्तकमा योगदान गरेका फोटो पत्रकारहरु रामगोपाल तमखु, विनोद कोजु, आवरण डिजाइनर तथा साहित्यकार मनोज केसी समय, महाकवि चन्द्रप्रसाद न्यौपाने र डा. भगवान चन्द्र ज्ञवाली लगायतलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रममा भक्तपुर विकास सहयोग समतिका निवर्तमान अध्यक्ष, कृष्णलाल प्रधान,भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनंकमी, कथाकार माया ठकुरी, प्राज्ञ मातृका पोखरेल, ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जन लगायतका अतिथिहरु उपस्थित रहनुभएको थियो ।

www.newsofnepal.com बाट साभार 

No comments:

Post a Comment